वैशाख २०, २०७४ । मुलुकको बिमा बजारमा डेढ दर्जन बिमा कम्पनीहरू थपिने देखिएको छ । चैतसम्म १७ वटा कम्पनीले सञ्चालन अनुमति माग्दै बिमा समितिमा आवेदन दिएका छन् । जीवन बिमा कम्पनी १२ र निर्जीवन बिमा कम्पनी ५ गरी १७ कम्पनीको आवेदन प्राप्त भएको समितिले बताएको छ ।

तीमध्ये ९ जीवन बिमा कम्पनी र ५ वटा निर्जीवन बिमा कम्पनीले ०६४ साल पहिल्यै आवेदन दिएका हुन् । ०६४ सालपछि ३ वटा जीवन बिमा कम्पनीको मात्र आवेदन प्राप्त भएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए ।

‘ती सबै आवेदनउपर छलफल सुरु गरेका छौं,’ उनले भने, ‘सम्पूर्ण मापदण्ड पुगेका कम्पनीहरूले सञ्चालन अनुमति पाउँछन् ।’ उनका अनुसार ०६४ पछि युनियन लाइफ, युनी लाइफ र ज्योति लाइफ कम्पनीको आवेदन परेको छ । ‘आवश्यक मापदण्ड पूरा भएको अवस्थामा ती कम्पनीहरूलाई सहमति पत्र प्रदान गरिनेछ,’ उनले भने, ‘बाँकी कम्पनीहरूलाई अनुमतिको प्रक्रिया अघि बढाउँछौं ।’ हाल बिमा व्यवसाय गर्ने कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुनुअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

एक दशकयता बजारमा नयाँ बिमा कम्पनी थपिएका छैनन् । सोही कारण ०६४ सालअघि आवेदन दिएका कम्पनीहरूले पनि सञ्चालन अनुमति पाएका थिएनन् । समितिले पहिले आवेदन दिइसकेका कम्पनीहरूलाई आवश्यक कागजातसहित सम्पर्क गर्न पत्राचार गरेको थियो । पत्रमा २१ दिनभित्र सम्पर्क गर्न निर्देशन दिइएको थियो । यसरी दिइएको समय अवधि आउँदो आइतबार सकिँदै छ । तोकिएको समयभित्र सम्पर्क नगर्ने कम्पनीको आवेदन स्वतस् खारेज गरिने अध्यक्ष चापागाईले बताए । ०७४ वैशाख १ गते देखि समितिले नयाँ कम्पनीका लागि लाइसेन्स स्थगित गरेको छ ।

यस्तै बजारको अवस्था अध्ययन गरी नयाँ कम्पनी आवश्यक भएरनभएको अध्ययन गर्न अर्थ मन्त्रालयका सहसचिव एवं समितिको सञ्चालक गणेशप्रसाद पाण्डेको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति गठन भएको छ । समितिले तीन महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउनेछ । त्यसका आधारमा नयाँ लाइसेन्स दिनेरनदिनेबारे निर्णय गरिने समितिले बताएको छ ।

जीवन बिमा कम्पनी स्थापना अनुमतिका लागि समितिलाई अर्थ मन्त्रालयको स्वीकृति चाहिन्छ । यसकारण ०६४ अघि प्राप्त ९ वटा कम्पनीको आवेदनउपर समितिमा छलफलपछि अर्थ मन्त्रालय पठाइने अध्यक्ष चापागाईले बताए । निर्जीवन बिमा कम्पनीहरूका लागि भने समिति आफैंले अनुमति दिन सक्छ । जीवन र निर्जीवन गरी १७ कम्पनीको आवेदन परे पनि सबैले सञ्चालन अनुमति नपाउने बिमा स्रोतले जनाएको छ ।

ती कम्पनीहरूले पुरानो मापदण्डअनुसार सञ्चालन हुन चाहेको र हाल पुँजीलगायत अन्य कुराहरू परिवर्तन भएकाले सबैले अनुमति पाउने सम्भावना नरहेको स्रोतको दाबी छ । ‘ती कम्पनीहरूको आवेदन आउँदा जीवन बिमाको चुक्ता पुँजी ५० करोड र निर्जीवनको २५ करोड थियो,’ स्रोतले भन्यो, ‘हाल जीवन बिमाको २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ पुगेको छ, पुँजीकै कारणले पनि सबै कम्पनी नआउन सक्छन् ।’

हाल ९ वटा जीवन बिमा र १७ वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । गत आर्थिक वर्षमा यो क्षेत्रमा करिब पौने ४७ अर्ब रुपैयाँ बराबरको बिमा भएको छ । त्यसमध्ये जीवन बिमामा ३१ अर्ब ८६ करोड रुपैयाँ र निर्जीवन बिमामा १४ अर्ब ९९ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर