एजेन्सी । एक फ्रान्सीसी म्यागाजिनमा डचेज अफ क्याम्ब्रिज केट मिडल्टनको टपलेस तस्बिर छापेको घटनामा ६ जनामाथि गोपनियता र अपराधको विषयमा आरोप तयार भएको छ । यो मुद्दा फ्रान्समा चलिरहेको छ ।
अनुसन्धानमा भइरहेको प्रगतिबारे जानकारी लिँदै प्रिन्स विलियमले आफ्नी पत्नीको टपलेस तस्बिर छापिनु निकै दुःखद भएको बताएका छन् । उनले आफ्नी आमा डायनाको अनुभव दिलाउने समेत बताएका छन् ।
प्रिन्स विलियमले आफ्नी आमालाई जीवनमा मिडियाले बिनाकारण दखल दिने गरेको स्मरण समेत गरे । यो राजपरिवारको जोडीको तस्बिर सन् २०१२ मा फ्रान्सको फोवांसमा लिइएको थियो । उनको टपलेस तस्बिर फ्रान्सको क्लोजर म्यागाजिनमा छापिएको थियो ।
केटको स्विम ड्रेसको तस्बिर समेत छापिएको थियो । पेरिसका दुई फोटोग्राफमाथि लङ लेन्सबाट यो राजपरिवारको जोडीको तस्बिर लिएको आरोप लागेको छ । यसमा सामेल भएका व्यक्तिहरुमाथि फ्रान्सको ननटेयरमा सुनुवाई भइरहेको छ ।
क्लोजर म्यागाजिनका सम्पादक लरेन्स पिउ, एर्नेस्टो माउरीसँगै यस समूहका सीईओमाथि सुनुवाई भएको हो । उनीहरुमाथि ठूलो रकम जरिवाना गर्न आग्रह गरिएको छ । पत्रिकाले भने उनीहरुको तस्बिर कुनै गोपनियताको उल्लंघनका लागि नभई सकारात्मक रुपमा प्रकाशन गरेको बताएको छ ।