यस्तो छ देजमो तनहुँको चुनावी घोषणा पत्र

यस्तो छ देजमो तनहुँको चुनावी घोषणा पत्र

स्थानीय चुनावको क्रान्तिकारी उपयोग गरौं !’
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले विजयी गराऔं !!’’

देश र जनताका हितका पक्षमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका खातिर विगतमा संचालित जनआन्दोलन, जनयुद्ध र संघर्षका दौरान आफ्नो जीवन बलिदान गरी सहादत प्राप्त गर्ने ज्ञात अज्ञात वीर शहीदहरु प्रति देशभक्त जनगणतान्त्रिक मोर्चा, तनहूँँले उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शहिदहरुले देखाएको वाटोमा निरन्तर अघि बढ्ने प्रण गर्दछ ।

हाम्रो संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले संविधानलाई पश्चगामी संविधान ठहर गरेको छ र त्यसका बदलामा संघीय जनगणतान्त्रिक संविधान निर्माण गर्ने नीति लिएको छ । किनभने विगतमा भएका जनयुद्ध, जनआन्दोलन र संघर्षहरुको परिणामस्वरुप प्राप्त भएका उपलब्धिहरु भनेका धर्म निरपेक्षता, समानुपातिक, समावेसी प्रतिनिधित्वको व्यवस्था, गणतन्त्र र राज्यको नयाँ संघीय संरचना निर्माण गर्ने रहेका थिए । ती मुद्दाहरु मध्ये गणतन्त्र बाहेक अन्य सबै विषयहरुलाई एक वा अर्को रुपमा निस्तेज र विकृत तुल्याउने काम भएको छ ।
आगामी २०७४ साल बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन घोर अलोकतान्त्रिक कानुन अनुसार हुन गैरहेको छ । उक्त कानुनले राजनीतिक दलहरुलाई चुनाव चिन्ह प्राप्त गर्नबाट बञ्चित गर्ने जस्तो अलोकतान्त्रिक कार्य मात्र गरेको छैन स्वयं उत्कृष्ट भनिएको संविधानको प्रस्तावनाको विरुद्ध गएको छ । देश संघीयतामा गैसकेको अवस्थामा सर्वप्रथम संघीय संसदको निर्वाचन गरेर त्यस पछि प्रदेश सभाको निर्वाचन गरी प्रदेश कानुन अन्तर्गत स्थानीय तहको निर्वाचन हुनु पर्दथ्यो । यसले संघियताको सामान्य मान्यता समेतलाई उल्लंघन गरेको छ । स्थानीय तहको निर्वाचन भएतापनि प्रदेश सभाले स्थानीय तह सम्बन्धि कानुन नबनाएसम्म स्थानीय तहहरुले कुनै पनि काम गर्न पाउदैनन् । तथापि स्थानीय तहको निर्वाचन जनताका दैनिक सरोकारका विषयहरुसँग जोडिने भएकाले स्थानीय तह निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीतिे लिए अनुसार हाम्रो संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा, तनहूँँ तपसिलका कार्यक्रम र प्रविद्धताका साथ स्थानीय निर्वाचन–२०७३ मा सहभागी भएका छौं ।

आधारभूत नीति ः
१. गाउ तथा नगरपालिकाहरुलाई जनगणतन्त्र उन्मुख स्थानीय तहको रुपमा विकास गर्दै पहिचान सहितको संघियता लागु गर्न अभिप्रेरित गर्दै लगिनेछ ।
२. गाउ तथा नगरपालिकामा भएका भ्रष्ट्राचारलाई दण्डित गर्दै विकास निर्माणमा हुने भ्रष्ट्राचारलाई रोकिनेछ ।
३. गाउ तथा नगरपालिकामा विकासका नाममा भागवण्डा गर्दै वांडिने विकास योजनाहरुलाई रोक्दै पहिला देखि नै भएका वेरुजु योजना हिसाव असुली गरिनेछ । योजना हिना मिनामा संलग्नलाई दण्ड गरिनेछ ।
४. गाउ तथा नगरपालिकाहरुमा जातीय, धार्मिक तथा लैङ्गिग रुपमा हुने भेदभावलाई पूर्णः अन्त्य गरिनेछ । भेदभाव गर्नेलाई दण्ड गरिनेछ ।
जनजीविका सम्वन्धि नीति ः

१. आम जनताको ढाड सेक्ने गरी हुने अनियन्त्रित मूल्य बृद्धिलाई रोकिनेछ ।
२. गाउ तथा नरपालिकामा कम्तीमा एक लघु उद्योगको स्थापना रोजगारी सृजना गर्ने नीति लिइनेछ ।
३ सार्वजनिक तथा प्रति जग्गाको संरक्षण गरी सामुहिक हितमा प्रयोग गरिनेछ ।
४. गाउ तथा नगरपालिकामा रहेका अव्यवस्थित वसोवासलाई व्यवस्थापन गर्ने नीति अवलम्वन गरिनेछ
५ भूमिहिन तथा सुकुम्बासीहरुको पहिचान गरी निशुल्क जग्गा उपलव्ध गराइनेछ ।
६. खानेपानी, वाटो घाटो, पुल पुलेसा, विजुली आदीेको समुचित विकासमा विशेष पहल गरिनेछ ।
७. वाटो तथा सडकहरुको स्तर बृद्धि गर्दै नयाँ बस्तीहरुमा खानेपानी, वाटो घाटो, पुल पुलेसा, विजुली आदीको व्यवस्था गरिनेछ ।
८. भूक्षय, नदी कटानलाई विशेष योजनाका साथ नियन्त्रण गरिनेछ ।
९. अव्यवस्थित रुपमा चलेका उद्योगहरु ( ग्रील, फलाम, फर्निचर तथा क्रसर) लाई वातारणीय असर नगर्ने गरी उचित व्यवस्थापन गरिनेछ ।
१०. लैङ्गिक रुपमा हुने मजदुरहरुको असमान ज्याला हटाइ उचित ज्याला निर्धारण गरिनेछ र ठेकेदारी, करार र ज्यालादारी प्रथालाई खारेज गरिनेछ ।

शिक्षा नीतिः

१. कक्षा १२ सम्म सबै क्षेत्रमा निशुल्क र अनिवार्य शिक्षानीतिलाई कडाइका साथ लागु गरिनेछ । वैज्ञानिक, व्यवहारिक तथा देशभक्तिको भावना बढाउने शिक्षा नीति र पाठ्यक्रमको व्यवस्था गरिनेछ ।
२. गाउ तथा नगरपालिकामा सवै भाषाभाषीलाई समान अवसर प्रदान गरी मा.वि.तहसम्मको शिक्षालाई मातृभाषामा पढ्न पाउने व्यवस्थालाई कडाईका साथ लागु गरिनेछ ।
३. गाउ तथा नगरपालिकामा आधारभूत शिक्षालाई अनिवार्य गदै सवैको पहुँचमा पु–याइनेछ ।
४. गाउ तथा नगरपालिकामा सामुदायिक विद्यालयको स्तरोन्नती गर्दै लगिनेछ । संस्थागत विद्यालय र सामुदायिक विद्यालय वीचको गुणस्तरको विद्यमान खाडललाई न्युनिकरण गर्न विशेष पहल गरिनेछ ।
५. गाउ तथा नगरपालिकाका सवै सामुदायिक तथा संस्थागत विद्यालयलाई वालमैत्री विद्यालयको रुपमा विकास गरिेनेछ ।
६. गाउ तथा नरपालिकामा कम्तीमा एउटा प्राविधिक विद्यालयका स्थापना गरी दक्ष, सीपवान तथा व्यवशायिक जनशक्तिको उत्पादन गरिनेछ ।

स्वास्थ्य नीतिः

१. गाउ तथा नगरपालिकामा सवैका लागी स्वास्थ्य भन्ने नाराका साथ स्वास्थ्य संस्थाको विकास गरिनेछ ।
२. गाउ तथा नगरपालिकामा रहेका स्वास्थ्य संंस्थाको स्तर वृद्धि गरिनेछ ।
३. गाउ तथा नगरपालिकामा शहिद तथा वेपत्ता परिवार, अपाङ्ग, जेष्ठ नागरिक, एकल महिला, असहाय तथा विपन्नलाई निशूल्क स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ । प्राथमिक स्वास्थ्यलाई निशुल्क तथा सर्वसुलभ गरिनेछ ।
४. गाउ तथा नगरपालिकामा सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी वनाई नीजी क्लिनिकहरुलाई निरुत्साहित गरिनेछ ।

कृषि नीति ः

१. कृषि योग्य जमिनमा खेती गरी कृषि उत्पादनमा बृद्धि गर्नका लागि किसानलाई अनुदान, मल बिउको व्यवस्था र कृषि उत्पादनको उचित मूल्यमा बिक्रि तथा वजारको व्यवस्था गरिनेछ ।
२. कृषकहरुवाट उत्पादित तरकारीको विक्री तथा वजार व्यवस्थापनको जिम्मा गाउ तथा नगरपालिका लिई विचौलियावाट हुने शोषणको अन्त्य गरिनेछ ।
३. पराम्परागत खेती प्रणालीलाई निरुत्साहित गरी आधुनिक तथा व्यवशायिक खेती प्रणाली मार्फत कृषकहरुको आय आर्जनमा बृद्धि गर्ने नीति लिइनेछ ।
४. गाउ तथा नगरपालिकामा सामुहिक माछा पालन, गाई पालन, माहुरी पालन, कुखरा पालन तथा बाख्रा पालन जस्ता आधुनिक तथा व्यवशायिक कृषिलाई विशेष प्राथमिकता दिइनछ ।
५. गाउ तथा नगरपालिकामा रहेका खेतीयोग्य जमिनको संरक्षण गरिनेछ । अव्यवस्थित रुपमा भए गरेको जमिनको खण्डिकरणलाई रोकी विशेष भूउपयोग नीति अवलम्वन गरिनेछ ।
६. पशुपालक किसानलाई पशु खरिद गर्नका लागि अनुदान दिनुका साथै निशुल्क पशु विमाको व्यवस्था गरिनेछ ।

विविध ः
१ भूकम्पवाट क्षती पुगेका नीजि तथा सरकारी भवनको निर्माण तुरुन्त गरिनेछ । राजनैतिक तथा विभिन्न प्रभावमा क्षतीको विवरण गलत गर्ने गराउने माथि कडा कारावाही गरिनेछ ।
२. राजनैतिक प्रतिशोधको आधारमा लगाइने मुद्धाको खारेजी गरिनेछ तर गैर कानुनी रुपमा गरिने सबै काममा कडा कारवाही गरिनेछ । सामान्य झैझगडाका लागी मेलमिलाप सेवा केन्द«को स्थापना गरी समाधान गरिनेछ ।
३. गाउ तथा नगरपालिकामा कम्तीमा एउटा शहिद पार्कको स्थापना गरी शहिदहरु प्रति उच्च सम्मान गरिनेछ ।
४. गाउ तथा नगरपालिकामा बर्षमा एक पटक राजनैतिक योद्धा तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिनेछ ।
५. गाउ तथा नगरपालिकामा आम जनताको वाक तथा प्रकाशन स्वतन्त्रतालाई पूर्ण रुपमा सुनिश्चित गरिनेछ ।
६. गाउ तथा नगरपालिकामा बुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिक कर्मीहरुको प्राज्ञिक स्वतन्त्रता सुनिश्चित गरिनेछ ।
७. अव्यवस्थित रुपमा संचालित उद्योगहरुको वातावरणीय असर नपर्ने गरी व्यवस्थापन गरिनेछ ।

अन्त्यमा, सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी, अग्रगामी र परिवर्तनकामी जनसमुदायहरु समक्ष देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल तनहूँका उम्मेदवारहरुका पक्षमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउन हार्दिक अपिल गर्दछौं ।
चुनाव प्रचार प्रसार समिति
देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल
जिल्ला संगठन समिति, तनहूँ