फेरि सर्ने भयो दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति

प्रकाशित मिति : २०७४ जेष्ठ १६

काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति फेरि सार्ने भएको छ । राजपाका नेताहरु र मुस्लीम समुदाय सम्बद्ध संघसंस्थाहरुको दबाबका कारण सरकारले असार ९ गतेका लागि सारेको निर्वाचनको मिति फेरि सार्ने तयारी गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

मिति सार्ने विषयमा प्रधानमन्त्री प्रचण्डले मंगलबार नै निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । भेटमा प्रधानमन्त्रीले राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र रमजान पर्वका कारण मिति केही दिन सार्न राय मागेको स्रोतले बतायो ।  
स्रोतका अनुसार निर्वाचन आयोगले रमजान १३ गते सकिने भन्दै त्यसपछि चुनाव गर्न सकिने बताएको छ । आयोगको प्रस्तावमा प्रधानमन्त्री प्रचण्ड पनि सहमत देखिएको भेटमा सहभागी एक आयुक्तले बताए ।  

स्रोतका अनुसार सरकारले असार ९ गते गर्ने भनेको चुनाव असार १४ गते सार्ने गृहकार्य थालेको छ । यसबारे औपचारिक निर्णय भने बुधबारको मन्त्रिपरिषद बैठकले गर्नेछ ।

सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव असार ९ का लागि सार्ने निर्णय सोमबार मात्रै गरेको थियो । असार ९ गते शुक्रबार मुस्लिम धर्मावलम्बीहरुको प्रमुख पर्व रमजानको ‘जुमा अलबिदा’ परेका कारण फेरि मिति सार्न लागिएको हो ।

यसैबीच, आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीलाई समेत स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यसहित सरकारले स्थानीय तह निर्वाचन ऐनमा संशोधन प्रस्ताव दर्ता गराएको छ । ऐन संशोधनका लागि प्रक्रिया सुरु गर्ने निर्णय गरेको एकदिन पछि सरकारले मंगलबार ब्यवस्थापिका संसदमा संशोधन प्रस्ताव दर्ता गराएको हो । राजपालाई समेत सरकारमा सहभागी गराउने भन्दै सरकारले सोमबार मात्र दोस्रो चरणको निर्वाचन ९ दिन पछि सार्दै ऐन सम्सोधन गर्ने निर्णय गरेको थियो । यद्यपि राजपाले असार ९ गतेका लागि तोकिएको निर्वाचन अझै २–४ दिन पछि सार्न सरकारसँग प्रस्ताव गरेको सन्दर्भमा सरकारले १४ गते अर्को मिति प्रस्ताव गर्न लागेको हो ।