भरतपुरमा एमालेको विरोध प्रदर्शन, मतगणना तत्काल सुरु गर्न माग

भरतपुरमा एमालेको विरोध प्रदर्शन, मतगणना तत्काल सुरु गर्न माग

चितवन । मतगणनाका क्रममा मतपत्र च्यातिएको विरोधमा एमालेले भरतपुर महानगरपालिकामा विरोध प्रदर्शन गरेको छ ।

एमालेले तत्काल मतगणना सुरु गर्न माग गर्दै प्रदर्शन गरेको हो । एमालेले निकालेको जुलुस मतगणनास्थल भरतपुरको कभर्ड हलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागी एमाले नेता तथा कार्यकर्ताहरुले मतपत्र च्यात्नेलाई कारबाही गर्न मागसमेत गरेका छन् । उनीहरुले पुनः मतदान गर्न खोजिए प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् ।

यसअघि भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटना छानविन गर्न निर्वाचन आयोगले एउटा समिति बनाइसकेको छ । सह महान्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिनाको संयोजकत्वमा गठित छानबिन समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन आयोगले निर्देशन दिएको छ ।

गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेका बेला आइतबार राति माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातिदिएपछि मतगणना स्थगित गरिएको थियो ।

एमालेले मतगणनाको माग गरेको छ भने काँग्रेस र माओवादी केन्द्रले पुनः मतगणनाको माग गरेका छन् ।