काठमाडौं । स्थानीय तहको दोस्रो चरणका निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसअघि यही जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने भनिएपनि दलहरुको सहमतिका आधारमा निर्वाचन सरेको हो ।
अब स्थानीय तहको उम्मेदवारी दर्तासहित निर्वाचनका सबै कार्यक्रम पछि सर्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो ।
आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो ।
लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन् ।
पहिलो चरणको निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरुको सहभागिता सुनिश्चित गर्न पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते सार्ने निर्णय लिनु परेको सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ का ४६१ स्थानीय तहमा निर्वाचन हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा बैशाख ३१ गते निर्वाचन सम्पन्न भइ अधिकांश स्थानको परिणाम समेत आइसकेको छ ।