हजुर म एकलकाटे ढेँडु । म कोही कसैसँग पनि मिल्दिन । मेरो ब्रह्मले कसैसँग नमिल भन्छ । नमिल्ने भएकैले मलाई साना ठूला, भूरेभारे सबैले चिन्दछन् पनि । चिन्नेहरूले पहिला पहिला त मेरो खुवै प्रशंसा गर्छन्, जब मलाई नजिकैबाट चिन्छन् र मेरो एकलकाटे व्यहोरा थाहा पाउँछन् तब मलाई विरोध गर्न सुरु गर्छन् । मेरो नाम घोक्सीखोले । घोक्सीखोला जन्मिएको हुनाले नाम पनि त्यसै अनुसारको भयो । अहिले म त्यहाँ बस्दिन । त्यहाँबाट मेरो परिवार विराट राजाले राज्य गरेको थलातिर सरो । त्यता सरेपछि मेरो वर्गको पारो पनि माथितिर चढो । वर्गको पारो चढेपछि मैले पढ्न लेख्न पाएँ । मैले नेपाल मण्डलमा हुने पढाइको अन्तिम तलामा पनि पुगिसकेको छु । अर्थात् नामको अगाडि उपाधी चढाउन पाउने विद्या पाइसकेको छु । त्यता छँदा मैले सरकारी सुलसुले पदको जागिर पनि खाएँ । जागिर खाँदाखाँदै मलाई कुन्नि केको सनक चढो । सनक चढेपछि माक्र्स बुढालाई पढ्ने मन लागो । सात समुन्द्र पारि जन्मिएर उहिल्यै मरिसकेका बुढाले संसारै थर्काउने विचार के निकालेका रछन् त भन्ने कुतकुती लागो । उनकै विचारले संसारका गरिवगुरुवा जुटेर सामन्त, फटाहा, शोषक, जालि र धूर्तहरूको साम्राज्य हल्लाउने जुलुस निकाल्न थाले । त्यो विचार हाम्रा मण्डलतिर पनि कान्तिपुरी नगरीको खाल्टोमा बस्ने चार थान नेवारका ठिटाहरूले भित्र्याए । के रछ त्यो गरिबलाई लठ्याउने मोहिनी विद्या ? जान्न मन लागो ।
माक्र्स बुढालाई राम्रैसँग पढेँ । त्यसपछि एङ्गेल्स, लेनिन, माओ, स्टालिन सबैलाई मसिनोगरि पढिसिध्याएँ । तर मेरो पढ्ने काम मात्रै भो । अब पढाईअन्सारको कमाई पनि गर्नु परो भनेर किर्तिपुरको कलेजतिर लागेँ । सुलसुलेको जागिरसागिर छोडेर मास्टरी गर्न थालेँ । मलाई मैले जति माक्र्सलाई यो दुनियाँमा कसैले पढेका छैनन् भन्ने लागो । अझ बुर्जुवाहरूलाई त झन् माक्र्स भनेका ‘कालो अक्षर भैँसी बराबर’ । त्यसपछि त मैले सबैलाई ह्याकुलाले मिचेर कडा थुतुनो चलाउन थालेँ । मेरो थुतुनो र मेरो पढाइबाट दच्किएर बुर्जुवाले मलाई प्रमोशनै गरिदिएनन् । नगरे पनि के नाप्छन् र भनेर म पनि के कम ? कसैसँग झुकिन । माक्र्सको विद्याले मलाई नझुक्नै सिकाथ्यो क्यारे ।
म घोक्सीखोले । मेरो थुतुनो असाध्यै छुच्चो छ । मेरो कलमको त झन् के कुरा गर्नु र ? जब मेरो कलम चल्न थाल्छ तब यो ब्रह्माण्डैमा म जति ठूलो कोही छैन भन्ने लाग्छ । छन पनि छैनन् कि क्या हो ? नत्र कसै न कसैले मेरो कलमको प्रतिवाद गर्नु पर्ने । मलाई वाद प्रतिवादमा रमाउन असाध्यै रमाइलो लाग्छ । कसैले छिसिक्क विरोध मात्रै गरो कि म त्यसको छाला यसरी काढ्थेँ कि छाला तान्दा तान्दै मासु नै लुछेर हड्डी मात्रै देखाइदिने थिएँ । मेरो कलम र थुतुनोको गजबको विशेषता छ । यस्तो विशेषता दुनियाँमा कसैको पनि छैन । म आपूmलाई माक्र्स बुढाको अब्बल दर्जाको अनुयायी ठान्छु । त्यसो भएपछि त म गरिवगुरुवाको पक्षमा लाग्नु पथ्र्यो । तर मलाई यी गरिबगुरुवाहरू गँवार लाग्छन् । यिनले खाने–प्युने, सुत्ने–उठ्ने, हग्ने–मुत्ने क्यै तरिका राम्रो लाग्दैन । जब मलाई यो कुरा मन पर्दैन तव मेरो थुतुनो सक्सकाएर आउँछ । कलम समाएर यिनका विरुद्ध छाद्न सुरु गरिहाल्छु । मैले अहिलेसम्म जति पनि कलम चलाएको छु यिनकै विरुद्ध चलाएको छु । बुर्जुवा त आफै छ्याङ्ग देखिएको हुन्छ त्यसका विरुद्ध किन लेख्नु परो ? लेख्ने त यिनै गरिबगुरुवाहरूका विरुद्ध पो हो भन्ने मेरो दर्शनले भन्छ ।
म माक्र्स बुढाको राजनीति भन्दा दर्शन र साहित्य बढ्ता मन पर्छ । राजनीतिले गरिबगुरुवाका पक्षमा लड भन्छ । साहित्यमा त लेखे मात्रै पुग्छ । लड्न त जस्लाई आवश्यक पर्छ उही लड्छ । हाम्रो उखान पनि त छ ‘जस्लाई तिर्खा लाग्छ उही खोला झछर्’ । मलाई के खाँचो परो र खोला झर्न । मास्टरी पेन्सन आएकै छ । स्वास्नीले पनि कमाएकै छ । छोराहरू कुइरेका देशतिर कमाइ गरेर उतैका रैथाने भएका छन् । सहराँ बसेकै छु । त्यसैले मेरो काम भनेको बुद्धिको विलास गर्ने र सबैलाई कलमको डण्डा लगाएर ठटाउने हो । यसैमा मलाई गजबको आनन्द आउँछ । अचेल म यही धुनमा मस्त छु । कलम चलाउँदा मलाई पहिलाको पेसाको झल्को पनि खुबै आउँछ । सुलसुले पेसाको । सुलसुलेको जागिर खाँदा अरूका आङमा जुम्रा कुदेको पत्ता लगाउने काइदा सिकिएको थियो । त्यो काइदा अहिले मलाई खुबै काम लागेको छ । मेरो कलम र थुतुनोको विशेषता भनेको पनि मेरै विचार मान्नेहरूको छाला काड्नु हो । अरूको छाला काड्न गए त फेरि जेलतिर कोचि हाल्छन् । म धेरै पटक जेलतिरको हावा पनि खाएको छु । त्यहि भएर मैले वाचा पनि गरेको छु कि बरू म मेरै सगोत्रीहरूको छाला काड्छु, बुर्जुहरूको काड्दिन ।
अचेल मैले कलम मात्रै चलाउँदिन । नेट पनि चलाउँछु । संचार भूमण्डलीकरणका जमानामा कागजमा छापेका कुराले मात्रै पुग्दैन । त्यहि भएर मैले आफ्नै वेभसाइट खोलेको छु । त्यसैमा मेरा कुरा ओकेल्छु । मेरै विचारका सगोत्रीहरूले गरेका कामकुराको छाला काड्ने काम म वेभसाइट र फेसबुक मार्फत् गर्दै आएको छु । यो काम म मृत्युपर्यन्त गरिरहन्छु ।
१४ जेठ २०७४