काठमाडौं । बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् ।

भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् ।

मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक (मुस्लिम परम्पराअनुसार सम्बन्ध–विच्छेद) गरेका थिए ।

मुस्लिम समुदायमा तीनपटक तलाक भनेपछि सम्बन्ध–विच्छेद हुने धार्मिक कानुन छ । भारतमा सो कानुनलाई लिएर अहिले चर्को बहस भइरहेको छ ।

विवाह गरिसकेपछि दुलही नलैजाने भनेपछि गाउँलेले भने दुलाहासहित जन्तीलाई मदरसाको कोठामा थुनेर राखेका छन् । केटी आफूलाई मन नपरेकाले बिहे गरे पनि घर नलैजाने निर्णयमा पुगेको दुलाहा रुस्तम आलमको भनाइ छ ।

जन्तीलाई स्थानीयले घेराउ गरेपछि भद्र–भलादमीले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्चबापत २ लाख ७५ हजार दिने सहमति गरेको प्रहरी चौकी गन्जभवानीपुरले जनाएको छ ।

केटाका अभिभावकले रकम नदिएसम्म केटी पक्षले दुलाहा, उनका भाइ र दुईवटा भारतीय गाडी नछाड्ने निर्णय गरेका छन् । बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताए ।

‘केटा पक्ष वा केटी कसैले उजुरी गरेका छैनन् । मैले पनि पत्रकारहरूबाटै जानकारी पाएको हो,’ उनले भने, ‘उजुरी नआएपछि कारबाही गर्ने कुरा पनि भएन ।’ –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर