काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यसबर्ष फरक फरक विधाका चार स्रष्टाहरुलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । इच्छुक स्मृति दिवस पारेर यस प्रतिष्ठानले हरेक वर्ष प्रगितवादी साहित्य र कला क्षेत्रका प्रतिभाहरूलाई पुरस्कृत गर्दै आइरहेको छ । प्रतिष्ठानका सदस्य सचिव हिरामणि दुःखीले बुधबार एक वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् । दुःखीद्वारा जारी प्रेस वक्तव्यका अनुसार यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार’ नेपाली जनसांस्कृतिक आन्दोलनमा जनयुद्धको ऐतिहासिक प्रक्रियादेखि संगठनात्मक एवम् सिर्जनात्मक क्षेत्रबाट क्रियाशील भई नेपाली वर्गसङ्घर्षको नवीन सौन्दर्य मूल्यहरूको विकास र प्रवद्र्धनका लागि अहोरात्र जुट्दै तनहुँबाट आन्दोलनको मूलप्रवाहमा सिर्जनात्मक रूपले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तनहुँ, आँबु खैरेनीका कवि अनिल श्रेष्ठ र नेपालको जनसांस्कृतिक आन्दोलनमा उत्पीडित वर्गको संवेदनालाई कथा, निबन्ध र कविताका माध्यमबाट चित्रण गर्दै सिर्जनात्मक क्षेत्रबाट नेपाली वर्गसङ्घर्षको सौन्दर्यात्मक मूल्यहरूको प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका वर्गसङ्घर्षको तुफानी केन्द्र रोल्पा, राङकोट निवासी कथाकार नवीन विभाष (किरण पुन) लाई संयुक्त रूपमा दिइने निर्णय गरिएको छ ।
त्यसैगरी साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ विगत लामो समयदेखि साहित्यलेखनमा क्रियाशील रहेर नेपाली वर्गीय आन्दोलनको संवेदनालाई कवितामार्फत् अभिव्यक्त गर्दै आएकी खोटाङ दिक्तेल निवासी कवि पञ्चकुमारी परियारलाई दिइने भएको छ भने कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ नेपाली जनयुद्धमा गीत, संगीतका माध्यमबाट जुझारु सांस्कृतिक योद्धाको भूमिका निर्वाह गर्दै समाज रूपान्तरण अभियानमा सामाना सांस्कृतिक परिवारमा संगठित भई जनपक्षीय संस्कृतिको विकास र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सिन्धूपाल्चोक निवासी अनिश योञ्जनलाई दिइने भएको छ ।
इच्छुक स्मृति पुरस्कारको राशी रु एक लाख नगद र प्रमाणपत्र रहेको छ भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार र प्रमाणपत्र रहेको छ ।
जेठ १३ गते इच्छुक स्मृति दिवसका अवसरमा संवाद डवली अनामनगरमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका संरक्षक वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्यबाट प्रदान गरिने कार्यक्रम तय गरिएको दुःखीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।