काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएका छन् । कांग्रेससँगको पूर्व सहमति अनुसार दाहालले राजीनामा दिएको बताएका छन् । प्रतिपक्षी दल एमालेले संसद अवरोध गरेपछि सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा बुधबार देशबासीका नाममा विशेष सम्बोधन गर्दै उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् । सम्बोधनको क्रममा उनले भने ‘बचनको भरोसा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन ।’
एमाले लगायतका दलहरुले सरकारको नेतृत्व फेरिँदा ३१ जेठमा हुने चुनावलाई असर पुग्ने हुँदा दाहाल नेतृत्वको सरकारले नै दास्रो चरणको पनि चुनाव गराउँनु पर्ने तर्क गर्दै आएको छ । पहिलो चरणको निर्वाचन सकिए लगतै मधेशका जिल्लाहरुमा २२ वटा स्थानीय तह थप गरेपछि त्यसप्रति आपत्ति जनाउँदै आएको एमालेले संविधान संशोधनको विपक्षमा समेत अडान लिदै आएको छ । मधेशमा २२ वटा स्थानीय तह थप गरिए पनि राजपाले संविधान संशोधन मार्फत आफ्ना मागको सम्बोधन नभएसम्म चुनावमा भाग नलिने अडान लिदै आएको छ । यस पृष्ठभूमिमा आएको दाहालको राजीनामाले दास्रो चरणको निर्वाचनलाई अन्यौलता तर्फ धकेलेको राजनीतिक विश्लेषकहरुको ठहर छ ।