ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार गीता सत्याल विजयी भएकी छिन् ।
महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३२६ मत अन्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित भएका भए । उनले २४ हजार ६ सय ४२ मत पाएका छन् भने एमालेका ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत परेको छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १० हजार ६६१ मत पाए ।
यसैगरी उपमेयरमा विजयी गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५७९ मत अन्तरले हराइन् । उनको पक्षमा १९ हजार ८१९ मत परेको छ भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत ल्याएकी छन् । एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले भने १० हजार ५४७ मत प्राप्त गरे ।
ललितपुर महानगरपालिका जितेसँगै कांग्रेस विजयी भएका स्थानीय तहको संख्या १०४ पुगेको छ ।
ललितपुरका ६ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले एउटामा जित हासिल गरेका छन् । ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जन र उपप्रमुखमा गीता सत्याल, गोदावरी नगरपालिका प्रमुखमा कांग्रेसका गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी तथा वागमती गाउँपालिका अध्यक्षमा बीरबहादुर लामा र उपाध्यक्षमा रन्जना घिमिरे निर्वाचित भएका छन् ।
यसैगरी एमालेले महालक्ष्मी नगरपालिका र महांकाल गाउँपालिका जितेको छ । महालक्ष्मी नगरपालिकाको प्रमुखमा रामेश्वर श्रेष्ठ र उपप्रमुखमा निर्मला थापा तथा महांकाल गाउँपालिका अध्यक्षमा रामचन्द्र दाहाल र उपाध्यक्षमा कमला तामाङ विजयी भएका छन् ।
माओवादी केन्द्रले जितेको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा गोपिलाल सिङ्तान र उपाध्यक्षमा मिङ्मा लामा छन् ।
हालसम्मको मतपरिणाम अनुसार नेकपा एमाले ११९ स्थान जित्दै पहिलो पार्टी बनेको छ भने तेस्रो स्थानको माओवादी केन्द्रले ४६ स्थान जितेको छ ।