खाद्यले ४० हजार क्विन्टल गहुँ खरिद गर्ने

खाद्यले ४० हजार क्विन्टल गहुँ खरिद गर्ने

जेष्ठ १०, २०७४ । खाद्य संस्थानले गहुँ किन्न सुरु गरे सँगै कृषकहरुले उत्पादन गरेको गहुँको बजार व्यवस्थापन राम्रो भएको छ । जेठ महिनाभित्रमा ४० हजार क्विन्टल खरिद गर्ने गरी खरिद प्रक्रिया सुरु गरिएको हो ।

कृषकलाई प्रोत्साहन, उत्पादन वृद्धि र बजारीकरण गर्न विभिन्न जिल्लाबाट गहुँ खरिद सुरु गरिएको संस्थानले जनाएको छ । ‘एक सातादेखि कैलाली र बर्दियामा गहुँ किन्न सुरु गरेका छौं,’ संस्थानका बिक्री वितरण महाशाखा प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले भने, ‘जेठ महिनाभित्र ४० हजार क्विन्टल खरिद गर्नेछौं ।’ गहुँ खरिद गर्नका लागि १२ करोड ६० लाख ८० हजार विनियोजन गरिएको छ । कैलालीमा ७ हजार ४ सय क्विन्टल र बर्दियामा ३ हजार क्विन्टल खरिद भइसकेको छ । थप खरिद गर्ने प्रक्रियामा छ ।

संस्थानले कैलाली, बर्दिया, बाँके, रूपन्देही, पर्सा, सिरहा, मोरङ, झापाबाट खरिद गर्ने योजना बनाएको छ । कैलालीबाट १० हजार, बर्दियाबाट १० हजार, बाँकेबाट ५ हजार क्विन्टल खरिद गरिनेछ । यस्तै रूपन्देहीबाट ५ हजार क्विन्टल, पर्साबाट २५ सय क्विन्टल, सिरहा २५ सय क्विन्टल, मोरङ २५ सय क्विन्टल र झापाबाट २५ सय क्विन्टल खरिद गरिने प्रवक्ता सापकोटाले बताए । ‘कृषकबाट सीधै खरिद गर्दा खेतीतर्फ थप आकर्षित हुनेछन्,’ उनले भने ।

गहुँको मूल्य निर्धारण गर्न प्राथमिक खरिद समिति गठन गरिएको छ । समितिको अध्यक्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन्छन् । सदस्यमा कृषि कार्यालय प्रमुख, कृषि कार्यालयले तोकेको कृषक र सम्बन्धित जिल्लाका संस्थान प्रमुख सदस्य सचिव हुन्छ । टोलीले स्थानीय उत्पादन, बजार मूल्य र सीमावर्ती मूल्य विश्लेषण गरेर उचित मूल्य तोक्छ ।

‘समितिले बजार मूल्य विश्लेषण, अध्ययन गर्छ,’ उनले भने, ‘त्यसपश्चात् उचित मूल्य निर्धारण गर्छ ।’ कैलालीमा प्रतिक्विन्टल २६ सय ७५ र टीकापुरमा २६ सय ३० रुपैयाँ तोकेको छ । बर्दियाका लागि २६ सय ३० रुपैयाँ तोकेको सापकोटाले बताए । अन्य जिल्लाको हकमा मूल्य तोक्ने काम भइरहेको जनाएको छ । समितिले तोकेको मूल्य बजारभाउभन्दा प्रति क्विन्टल २० देखि ३० रुपैयाँ बढी भएको संस्थानको दाबी छ । ‘बजार हस्तक्षेपका लागि मूल्य तोकेका छौं । आकर्षक मूल्य नदिँदा कृषकले गहुँ बिक्री गर्दैनन्,’ उनले भने, ‘हाल संस्थानले तोकेको मूल्य व्यापारीभन्दा प्रतिक्विन्टल २० देखि ३० रुपैयाँ बढी छ ।’

जिल्लाबाट खरिद गरिएको गहुँ उपत्यकामा बिक्री गरिने संस्थानले जनाएको छ । उपत्यकाको बजारभाउ विश्लेषण गर्न अञ्चल कार्यालय थापाथलीलाई पत्राचारसमेत गरिएको छ । गहुँ ढुवानीका लागत, खर्च र केही प्रतिशत मुनाफा राखेर बिक्री गरिनेछ । ‘ढुवानी र प्याकिङ खर्च जोडेर बिक्री मूल्य संस्थान बोर्ड बैठकमा पेस गरी निर्णय गरिनेछ,’ सापकोटाले भने, ‘बजार भाउभन्दा किलोमा ३ देखि ४ रुपैयाँ सस्तो नै हुन्छ ।’

धान खरिद लक्ष्यभन्दा कम
संस्थानले कृषकबाट उत्पादित ४ लाख २० हजार क्विन्टल धान किन्ने प्रतिबद्धता जनाए पनि लक्ष्यअनुसार भने किन्न सकेन । चालु आर्थिक वर्षका लागि २ लाख १६ हजार ७ सय ४९ क्विन्टल मात्रै खरिद भएको छ । प्रवक्ता सापकोटाले धानको भाउ फेरबदल हुँदा लक्ष्यअनुसार खरिद गर्न नसकेको बताए । ‘धानको मूल्यमा वृद्धि भयो । केही क्षेत्रमा खरिद गर्ने मूल्य पनि समायोजन ग¥यौं,’ उनले भने, ‘धेरै फेरबदलका कारण लक्ष्य पुग्न सकेन ।’ जानकारीका अनुसार सरकारले धानको खरिद मूल्य व्यवसायीभन्दा कम मूल्यांकन गर्दा सरकारलाई बेच्न मानेनन् ।

संस्थानले सबैभन्दा बढी लाहानमा धान खरिद गरेको छ । लाहानबाट ४५ हजार ९ सय क्विन्टल खरिद गरेको छ । धनगढीमा ३९ हजार ९ सय क्विन्टल, राजापुरमा २७ हजार ५ सय, नेपालगन्जमा २५ हजार क्विन्टल खरिद भएको जनाएको छ । यस्तै वीरगन्ज, भैरहवा, विराटनगर, जनकपुर बिर्तामोडबाट ७८ हजार २ सय क्विन्टल खरिद गरेको छ ।