स्थानीय तहको प्रथम चरणको निर्वाचन, त्यसको क्रान्तिकारी उपयोग र आगामी कार्यदिशा

प्रकाशित मिति : २०७४ जेष्ठ ९

- परि थापा

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट एवम् समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले यही २०७४ वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको प्रथम चरणको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति अनुसार त्यसमा सहभागिता जनाएको थियो । देशको वर्तमान राजनीतिक परिस्थितिको समग्र मूल्यांकन गरेर तत्कालीन अवस्थामा क्रान्तिकारी आन्दोलन उभारमा नभएर उतारको अवस्थाबाट गुज्रिरहेकाले क्रान्तिकारी आन्दोलनलाई पुनः संगठित गरेर अगाडि बढाउनका लागि व्यापक जनसमुदायबीचमा गएर संगठन विस्तारका साथै प्रतिगामी प्रतिक्रियावादी र प्रतिक्रियावादी उन्मुख तत्वहरुको भण्डाफोर गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्न र उठाउनका लागि त्यस्तो नीति अपनाएको थियो । समय अभावका कारणले छोटो तयारी र कतिपय व्यवहारिक कठिनाइहरुका बाबजुद पनि देशभक्त जनगणतान्त्रिक मोर्चाका सबै तहका नेतृत्व र कार्यकर्तापंक्तिले संगठनको नीतिलाई आत्मसाथ गर्दै उत्साहपूर्ण ढंगले व्यवहारमा कार्यान्वयन गर्न संघर्षको मैदानमा सम्पूर्णरुपले उत्रेर र संगठनको नीति र कार्यक्रम व्यापक जनसमुदायसमक्ष पु¥याउन सफल भए । त्यसरी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले लिएको स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोगको नीति सही थियो भन्ने कुरा स्पष्टताका साथ प्रमाणित भएको छ ।

हाम्रो संगठनले स्थानीय तह निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीति तय गरेपछि हाम्रो अगाडि विभिन्न समस्या र चुनौतीहरु उपस्थित थिए । त्यस्ता समस्या र चुनौतीहरुका सम्बन्धमा यसभन्दा अगाडि नै पटक–पटक चर्चा र प्रकाश पार्ने काम गरिसकिएको भएता पनि हामीले मुख्यरुपले दुईवटा समस्याहरु व्यहोर्नु प¥यो । ती मध्ये निर्वाचन आयोगमा पार्टी संगठन दर्ता हुन नसक्नु र पार्टीको नाममा देशव्यापी रुपमा प्रयोग हुने गरी निर्वाचन चिन्ह प्राप्त नहुनु एउटा समस्या रह्यो र जसका कारण मतदाता र समर्थकहरु समक्ष निर्वाचन चिन्हको जानकारी एवं प्रचार प्रसार पहिलेदेखि नै हुन सकेन । हाम्रा उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेको दुईदिनपछि मात्र निर्वाचन चिन्ह प्राप्त गरे । त्यो पनि स्वतन्त्र उम्मेदवारको हैसियतले निर्वाचनमा उठेकाले निर्वाचन चिन्ह विविध प्रकारको हुन गयो । यस कार्यमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले र निर्वाचन आयोग खासगरी सरकार षड्यन्त्रमूलक ढंगले प्रस्तुत भयो । परिणामस्वरुप व्यवहारमा निर्वाचन चिन्हको प्रचार पार्टीगत भन्दा व्यक्तिगत प्रकारको हुन पुग्यो । जसले गर्दा मतदाताहरुलाई निर्वाचन चिन्ह चिन्न, सिकाउन र सम्झाउन पनि समस्याहरु भयो ।

अर्को मूल समस्या भनेको हाम्रो संगठनले संविधानसभा–२ को निर्वाचनलाई सक्रिय बहिस्कार गरेकोले पार्टी नीति अनुसार नै मतदाता नामावलीमा कतिपय पार्टी सदस्य र समर्थकहरुको मतदाता नामावलीमा नाम समावेश भएको थिएन र छुट्न गएको थियो । त्यसको परिणामस्वरुप स्थानीय तहमा लोकप्रिय र उम्मेदवार हुन योग्य कार्यकर्ताहरुका साथै अन्य समर्थक एवम् शुभचिन्तकहरुको मतदाता नामावलीमा नाम छुट हुन गयो । यो विषयलाई समयमै ध्यान पु¥याउन नसकिएकोमा हामीले कमजोरीको रुपमा स्वीकार गर्नुपर्दछ । माथि उल्लेखित जस्तै हामीले निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएकाले संसदवादी तत्वहरुले जस्तो, जसरी र जेगरेर पनि निर्वाचनमा जित हासिल गर्ने भन्ने उद्देश्य थिएन र हुने कुरो पनि भएन । तर निर्वाचन उपयोग गर्नुको तात्पर्य जीत हासिल गर्नु पनि हो । मुख्य कुरा व्यवस्थित संगठन र बलियो जनाधार नै निर्वाचनमा जित हासिल गर्ने आधारभूत कुरा हुन् भन्ने स्पष्टै छ । त्यसको उदाहारण स्वरुप हामीले जित हासिल गरेका स्थानहरुलाई लिन सकिन्छ ।

स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्नुको एउटा मुख्य उद्देश्यमध्ये प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावाद उन्मुख पार्टीहरु साथै राष्ट्रघाती, जनघाती र भ्रष्टाचारी तत्वहरुको व्यापक भण्डाफोर गर्नु रहेको थियो । हाम्रो नेतृत्व र संगठनले यस दिशामा पहलकदमी लिएर निर्वाचन घोषणा भएका ३, ४ र ६ नं. प्रदेशमा कतिपय स्थानहरुमा राम्रै ढंगले कार्यक्रमहरु आयोजना गरी सम्पन्न गर्न सफल भएको भएता पनि भण्डाफोरको कार्यलाई अझै तीव्र र व्यापक रुपमा संचालन गरी अघि बढाउनमा कमी रहन गयो ।

स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने सन्दर्भमा हामीले अन्य पार्टी, संगठन र शक्तिहरुप्रति अपनाउने नीति त्यसमा खासगरी उनीहरुसँगको कार्यगत एकता एवम् तालमेलको सम्बन्धमा प्रष्ट नीति तय भएको थियो । जसअनुरुप प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादन्मुख पार्टी र तत्वहरुसँग कार्यगत एकता एवम् तालमेल नगर्ने र त्यसबाहेकका अन्य पार्टीहरुसँग केन्द्रीय स्तरमा नभएर स्थानीय रुपमा त्यहाँको परिस्थिति अनुसार तालमेल गर्न सकिने नीति तय भएको थियो । संगठनको उक्त नीति मूल रुपमा सबैतिर लागू र कार्यान्वयन भएको छ भने छिटपुट रुपमा संगठनको नीति र स्पिरिट अनुरुप काम हनु सकेको छैन ।

स्थानीय तहको निर्वाचन विभिन्न कारणले गर्दा मुख्य गरेर सरकाले तराई–मधेस केन्द्रित दलहरुको माग पूरा गर्न नसकेकोले सातवटामध्ये ३ वटा प्रदेशमा मात्र सम्पन्न भएको छ । अब बाँकी ४ वटा प्रदेश खास गरेर तराई मधेससहित समेटिएका प्रदेशहरुमा यही ०७४ जेठ ३१ गते हुने भनिएको छ । प्रथम चरणको निर्वाचनको दौरानमा भएका कमीकमजोरीहरुलाई मध्येनजर राखेर त्यस्ता कमीकमजोरीहरुलाई नदोहो¥याएर अगाडि बढ्ने विषयमा हाम्रो गम्भीर ध्यान जानु आवश्यक छ । त्यसका लागि सर्वप्रथम संगठनको नीतिलाई पूरै टीमस्पिरिटका साथ सशक्त ढंगले लागू एवम् कार्यान्वयन गर्नु पर्दछ ।

अब दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै यी कार्यहरु गर्नुपर्दछ ः– पहिलो चरणको निर्वाचन सम्पन्न भएका स्थानहरुमा निर्वाचनमा जित हासिल गरेका र नगरेका उम्मेदवारहरुबीचमा भेटघाट एवम् अन्तक्र्रियात्मक कार्यक्रम गर्ने र त्यस दौरानमा पहिलो चरणको निर्वाचनको समीक्षा गर्ने र पार्टीको नीतिका बारेमा स्पष्ट धारणा र दृष्टिकोण बनाउने, संगठन निर्माण र उम्मेदवारी दिने कार्यलाई अझै व्यवस्थित बनाउने, निर्वाचन प्रचार प्रसार कार्यलाई घनिभूत तुल्याउने र त्यसका लागि घरदैलो कार्यक्रम गर्ने, सबैप्रकारका संचारमाध्यमको उपयोग गर्ने, पत्रकार घेटघाट र अन्तक्र्रिया गर्ने, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको घोषणा पत्र, पर्चा प्रभावकारी वितरण गर्ने, सबै निर्वाचन स्थलहरुमा उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमसहित सभाहरु गर्नेलगायतका कार्यक्रमहरु तय गरी योजनाबद्ध ढंगले सञ्चालन र कार्यान्वयन गर्नुपर्दछ । यस दौरानमा हामीले छुट मतदाता नामावलीमा नाम समोवश गर्ने र निर्वाचन चिन्ह प्राप्त गर्ने प्रक्रियालाई पनि अन्य पार्टीहरुसँग समेत सहकार्य गरेर संघर्षको रुपमा अगाडि बढाउनु पर्दछ ।

संसदीय निर्वाचनहरुलाई क्रान्तिकारी उपयोग गर्ने सन्दर्भमा हामीले ध्यान दिनपुर्ने मुख्य विषय के हो भने अहिले संसदीय व्यवस्थाअन्तर्गत सम्पन्न भएको निर्वाचन र हुने निर्वाचनलाई क्रान्तिकारी आन्दोलनको उभार कमजोर भएको अवस्थामा क्रान्तिको पक्षमा संगठन निर्माण र जनाधार तयार पार्नका लागि क्रान्तिकारी उपयोग गरेका हौं । हाम्रो लक्ष्य भनेको वर्तमान संसदीय व्यवस्थाको स्थानमा संघीय जनगणतन्त्र स्थापना गर्नु र वर्तमान पश्चगामी संविधानको सट्टा जनगणतन्त्रात्मक संविधानको निर्माण गर्नु हो । तसर्थ, निर्वाचनको क्रान्तिकारी उपयोग क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने कार्यनीतिकै एउटा पक्ष मात्र हो । त्यसैले यस प्रकारका निर्वाचनमा पनि हामीले अधिकतम जित हासिल गर्ने प्रयत्न गर्नु पर्दछ । तर त्यसमा हुने हार र पराजयबाट हामी हतोत्साहित र निराश हुने कुरा आउँदैन र हुँदैन ।