काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतले एक वक्तव्य मार्फत् नेपाल पत्रकार महासंघ काठमाडौंको चुनावमा संगठनका महासचिव केशरमणि कटुवाल र जिल्ला संयोजक रामचन्द्र हुमागाईको केन्द्रीय पार्षद्का लागि भरेको फारम खारेज गरेको विषयलाई लिएर आफ्नो संगठनको अस्तित्वमाथि धावा बोलिएको भन्दै कडा शब्दमा निन्दा एवम् भत्र्सना गरेका छन् ।
शनिबार राउतले जारी गरेको वत्तव्यमा २४ घण्टाभित्र घटनाको चित्तबुझ्दो जवाफ माग गर्दै नेपाल पत्रकार महासंघको साझा चरित्रलाई धुलिसात पार्दै एकाध संगठनको बर्चस्व स्थापित हुने गरी महासंघको विधि र विधानविपरीत निर्वाचन समिति र महासंघको नेतृत्वले प्रदर्शन गरेको स्वेच्छाचारिता र निर्लज्जताले हाम्रो संगठनलाई निकै गम्भीर बनाएको उल्लेख गरिएको छ ।
महासंघले भनेको छ, “यो सामान्य र अन्जानबस भएको कमजोरी नभई नियोजित रुपमा नेपाल पत्रकार महासंघभित्र हुर्किरहेको फासिवादी, निरंकुश र निषेधकारी प्रवृत्ति बोकेका सिन्डिकेटवाला ‘विचौलिया’हरुको व्यवहारको अभिव्यक्ति हो ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ ः
“बैशाख ८–१० मा सम्पन्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको दशौं अधिवेशनमा हाम्रो संगठनका महासचिव केशरमणि कटुवाल र काठमाडौं जिल्ला संयोजक रामचन्द्र हुमागाईंले शाखाले तय गरेको प्रक्रिया पूरा गरेर केन्द्रीय पार्षद्का लागि उम्मेदवारी दिएकोमा निर्वाचन समितिले उहाँहरुको नाम प्रदेश पार्षद्को सूचिमा प्रकाशित गरेको पाइयो । यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो संगठनको अस्तित्वमाथि धावा बोलिएको अर्थमा हाम्रो संगठन यसको कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्दछ । र, यो निर्णयलाई खारेज गर्दछ ।
नेपाल पत्रकार महासंघको साझा चरित्रलाई धुलिसात पार्दै एकाध संगठनको बर्चस्व स्थापित हुने गरी महासंघको विधि र विधानविपरीत निर्वाचन समिति र महासंघको नेतृत्वले प्रदर्शन गरेको स्वेच्छाचारिता र निर्लज्जताले हाम्रो संगठनलाई निकै गम्भीर बनाएको छ । यो सामान्य र अन्जानबस भएको कमजोरी नभई नियोजित रुपमा नेपाल पत्रकार महासंघभित्र हुर्किरहेको फासिवादी, निरंकुश र निषेधकारी प्रवृत्ति बोकेका सिन्डिकेटवाला ‘विचौलिया’हरुको व्यवहारको अभिव्यक्ति हो । यो प्रवृत्तिले नेपाल पत्रकार महासंघलाई आम श्रमजीवि पत्रकारहरुबीचमा मात्रै होइन, सिंगो नागरिक समाजमा बद्नाम र घृणित तुल्याएको छ । तसर्थ, यो प्रवृत्तिका विरुद्ध लड्न आम श्रमजीवि पत्रकार र क्रान्तिकारी पत्रकारहरुमा हाम्रो संगठन अपील समेत गर्दछ ।
यसर्थ, आफ्नो कमजोरी सार्वजनिक रुपमा स्वीकार गर्दै २४ घण्टाभित्र काठमाडौं अधिवेशनको निर्वाचन समिति र नेपाल पत्रकार महासंघको नेतृत्वले यस घटनाको चित्तबुझ्दो जवाफ देओस् । त्यसो गर्न नसके तत्काल निर्वाचनका सबै परिणाम खारेज गर्दै महासंघको विधि र विधान अनुसार पुनः निर्वाचनको घोषणा गरोस् । अन्यथा, हाम्रो संगठन यो प्रवृत्तिका विरुद्ध जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावानी दिन चाहन्छ । त्यसबाट उत्पन्न परिणामको जिम्मेवार र जवाफदेही स्वयम् निर्वाचन समिति, पत्रकार महासंघको जिल्ला÷केन्द्रीय नेतृत्व र सिन्डिकेटवाला संगठन हुनेछन् ।”