निर्वाचनको मुखमा प्रचण्डलाई मोदीले दिए यस्तो आश्वासन, मधेसी नेता भारतीय दुतावासमा

निर्वाचनको मुखमा प्रचण्डलाई मोदीले दिए यस्तो आश्वासन, मधेसी नेता भारतीय दुतावासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले स्थानीय तहको निर्वाचनमा सक्दो सहयोग गर्ने बचन दिएका छन् ।

टेलिफोन कुारकानीमा मोदीले नेपालमा लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा सहयोगको वचन दिएका हुन् ।

स्थानीय तहको निर्वाचन घोषणा भएको लामो समय बितिसक्दा समेत मौन बसेका मोदीले मधेसी मोर्चासँगको सहमतिमा दुई चरणमा निर्वाचन गर्ने तय भएपनि टेलिफोन संवाद गरेका हुन् ।

मोदीसँगको फोनवार्तामा प्रधानमन्त्री दाहालले देशमा निर्वाचनको लहर आइसकेको भन्दै तोकिएकै समयमा चुनाव गरी संविधान कार्यान्वयन गरिने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

टेलिफोन कुराकानीमा मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री दाहालको सफलता रहेको भन्दै निर्वाचनमा भारतको पूर्ण सहयोग र सद्भावना रहने बताएका थिए ।

यसैबीच, विभिन्न मधेसवादी दलहरुबीच एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टीका नेताहरु भारतीय दुतावास पुगेका समाचार समेत बाहिर आएको छ । प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी भएलगत्तै उनीहरु दुतावास पुगेका हुन् ।

मधेसवादी दलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिलकुमार झा, राजकिशोर यादव र शरतसिंह भण्डारी मंगलबार साँझ लैनचौर पुगेका थिए ।

लैनचौरमा राजपा र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच करिब दुई घन्टा लामो छलफल भएको थियो । भारतीय राजदूत पुरीले सहमतिअनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ ।