
काठमाडौं । आज मातातिर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनका रुपमा हिन्दू धर्मावलम्बीहरुले मनाउँदैछन् ।
नौं महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔंसीका दिन मातातिर्थ औसीको रुपमा मनाइदै आएको छ ।
आजको दिन आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने आमा दिवंगत भइसकेकाहरुले सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।
आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रीय विश्वास रहेको छ । आज काठमाडौंको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लागेको छ ।
बौद्ध धर्मावलम्बी समेत यहाँ दिवंगत आमाको सम्झनामा श्राद्ध गर्न पुगेका छन् ।
मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवंगत आमाको मुख हेर्ने गर्दछन् ।
दिवंगत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ ।
मातातिर्थमा गएर आमाको नाममा संकल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवंगत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको छ ।