छत्तिसगढमा माओवादीको भीषण हमलामा २६ प्रहरीको मृत्यु, ७० प्रतिशत आक्रमणकारी महिला छापामार

छत्तिसगढमा माओवादीको भीषण हमलामा २६ प्रहरीको मृत्यु, ७० प्रतिशत आक्रमणकारी महिला छापामार

एजेन्सी । भारतको माओवादी प्रभावित छत्तिसगढको सुकमामा भारतीय माओवादीले गरेको आक्रमणमा परी २६ जना केन्द्रिय रिजर्ब प्रहरी बल (सीआरपीएफ) का जवान मारिएका छन् ।

माओवादी छापामारहरुले गरेको सो भिषण हमलामा परी प्रहरीहरु सम्हालिन समेत नपाउँदै ठूलो क्षति ब्येहोरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो स्थानमा करिब ३ सय माओवादीले प्रहरीमाथि आक्रमण गरेको रिपोर्टमा जनाइएको छ । आक्रमणकारी ३ सय नक्सलवादीहरु मध्ये करिब ७० प्रतिशत महिला सामेल रहेको जनाइएको छ । सो आक्रमणपछि ६ जवान बेपत्ता छन् ।

सीआरपीएफले घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट रायपुर लगिएको जनाइएको छ । यो घटनापछि छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले आपतकालीन बैठक समेत गरेका छन् ।

सोमबार दिउँसो करिब साढे १२ बजेदेखि नै उनीहरुले विभिन्न स्थानमा एम्बुस थापेर आक्रमण सुरु गरेका थिए । यस हमलामा मारिएका प्रहरी जवानका हतियार समेत लैजान माओवादी सफल भएका छन् ।

रक्षा राज्यमन्त्री हंसराज अहिर र सीआरपीएफका निर्देशकलार्इं सो स्थानमा जान निर्देशन दिएका छन् भने आक्रमणलगत्तै आईजी र डीआईजी सो स्थान गएका छन् । मारिने सबै सीआरपीएफको ७४ औं बटालियनका जवान थिए । घाइते भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

भारतको छत्तिसगढको सुकमा माओवादीको गढको रुपमा मानिन्छ । जहाँ पटक पटक माओवादीले घातक हमला गरी सुरक्षाकर्मीको हत्या गर्ने गरेका छन् । गत ११ मार्चमा पनि नक्सलवादीको आक्रमणबाट १२ जना सीआरपीएफ जवान मारिएका थिए ।