देजमोको टोखा नगरले कार्यालय उद्घाटन गर्दै घोषणा ग¥यो उम्मेदवारहरू (फोटो फिचरसहित)

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा टोखा नगर कमिटिले मोर्चाको कार्यालय उद्घाटन गर्दै टोखा नगरमा मेयर, उपमेयरलगायत ११ वटै वडामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ ।

साेमबार नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले मोर्चाको कार्यालय उद्घाटन गरे । मोर्चाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा टोखा नगरपालिकाको मेयरमा केशर प्रधान, उपमेयरमा छिरिङ अंगु शेर्पा र ११ वटा वडा अध्यक्षहरुमा क्रमशः रामशरण दुलाल, मनिराज डंगोल, आशाकाजी महर्जन, बिज्ञान नेपाल, रामशरण गिरि, गोपाल कार्की, सुमित्रा न्यौपाने, बद्रिहरी नेपाल, दलबहादुर घर्ति, बाबुराजा महर्जन, माधव शर्माको नाम घोषणा गरिएको छ ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका कार्यालय सदस्य रामसिंह श्रीस, सचिवालय सदस्य तथा नेवा राज्य संयोजक दिनेश शर्मा‘सागर’, मोर्चाका कार्यालय सदस्यहरु कमल चौधरी, पवनमान श्रेष्ठ, नगेन्द्र राई लगायत पार्टी र मोर्चाका केन्द्रीय, जिल्ला र नगरका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मोर्चाको टोखा नगर कमिटिले ३५ सदस्यीय निर्वाचन परिचालन कमिटि बनाएर वडा वडामा चुनाव प्रचार प्रसारमा लागिरहेको छ ।