अक्टोबर क्रान्तिको शतबार्षिकीमा किरण, सिंह, र विप्लवले भने– ‘सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु बीच एकता गरौं !’

अक्टोबर क्रान्तिको शतबार्षिकीमा किरण, सिंह, र विप्लवले भने– ‘सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु बीच एकता गरौं !’

काठमाडौं । पूर्व घोषित कार्यक्रम अनुसार नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र नेकपा (मसाल)को संयुक्त आयोजनामा गरिएको अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रममा तीनवटै पार्टीका नेताहरुले सच्चा क्रान्तिकारीहरु बीच एकताको खाँचोमा जोड दिएका दिए ।
अक्टोबर क्रान्तिको शतबार्षिकीको विषयमा कार्यपत्र पेश गरेका क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’, नेकपाका महासचिव विप्लव र मसालका महामन्त्री मोहनविक्रम सिंहले कार्यकर्ताले सोधेको प्रश्नको जवाफ दिंदै सच्चा क्रान्तिकारीहरुबीच एकतामा जोड दिएका हुन् ।

क्रान्तिकारी माओवादीका अध्यक्ष किरणले भने, “विचार÷सिद्धान्त, कार्यदिशा र कार्यक्रम मिल्ने कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता अहिलेको प्रमुख आवश्यकता हो ।” विचार, कार्यदिशा र कार्यक्रम एकै भएका पार्टीहरु अलग बस्नुको कुनै अर्थ नरहेको भन्दै उनले एमाले र माओवादी केन्द्रको एउटै लाइन भएकोले उनीहरुले पनि एकता गरे राम्रो हुने अध्यक्ष किरणले सुझाव दिए ।

विचार÷सिद्धान्त, कार्यदिशा र कार्यक्रम फरक परेका कारण विगतमा कतिपय फुटहरु भएको उल्लेख गर्दै अध्यक्ष वैद्यले कम्युनिष्ट आन्दोलनमा हुने गरेका कतिपय फुटहरु नेताहरुको कार्यशैली र निहीत महत्वकांक्षाका कारण भएको समीक्षात्मक टिप्पणी गरे ।

दक्षिणपन्थी नवसंशोधनवाद÷अवसरवाद अहिलेको नेपाली क्रान्तिको मुख्य खतरा रहेको बताउँदै सच्चा कम्युनिष्टहरुबीच एकताले मात्र त्यसलाई परास्त गर्ने बताए । उनले वामपन्थी अवसरवादबाट पनि क्रान्तिकारीहरु सचेत रहनुपर्ने पनि सुझाए ।

अक्टोबर क्रान्तिको शतावार्षिको अवसरमा आयोजित अन्तक्र्रियामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद जब्बर बनेर आएको भन्दै त्यसलाई परास्त गर्न क्रान्तिकारीहरुबीच एकता अपरिहार्य रहेकोमा जोड दिए ।

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालमा लामो समयदेखि दक्षिणपन्थी अवसरवाद मुख्य समस्या रहेको भन्दै अहिले प्रचण्डको माओवादी केन्द्र र एमाले कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या रहेको बताए ।

सिंहले तीन कम्युनिस्ट पार्टीबीच कार्यगत एकता गर्दै सैद्धान्तिक र राजनीतिक मतान्तरलाई हल गर्दै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा संयुक्तका अध्यक्ष गणेश साहले अरु कम्युनिस्ट पार्टीबीच तत्काल एकताको संभावना नरहेपनि यी तीन पार्टीबीच एकता भइदिए नेपालमा राम्रो सन्देश जाने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता ऋषि कट्टेल, मालेका महासचिव सिपी मैनाली, जनमोर्चाका अध्यक्ष साध्यबहादुर भण्डारीलगायत नेताहरुले पनि आफ्नो धारणा राखेका थिए ।
क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीसले अध्यक्षता गरेको उक्त कार्यक्रमको संचलन नेकपाका नेता हेमन्तप्रकाश ओलीले गरेका थिए भने मसालका योगेन्द्र ढकालले स्वागत मन्तव्य राखेका थिए ।