
पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरुको नाम घोषणा गरेको छ। ‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४औं स्मृति दिवसका अवसर पारेर सो केन्द्रले सम्मान घोषणा गरेको हो। केन्द्रका सदस्य सचिव स्नेह सायमीका अनुसार, ‘पारिजात कला सम्मान’ जनवादी गीतकार श्याम तमोटलाई, ‘पारिजात सिर्जन सम्मान’ समालोचक हेमनाथ पौडेललाई, ‘पारिजात बालसाहित्य सम्मान’ बालसाहित्यकार विजय चालिसेलाई र र ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ महिला नेत्री शशी श्रेष्ठ प्रदान गरिने निर्णय भएको छ।
सबै सम्मानमा रु १५ हजार राशिको पुरस्कार पनि छ। ती सम्मान यही वैशाखको अन्तिम सातामा दिइने कार्यक्रम छ। स्मृति दिवसका अवसरमा आज केन्द्रको म्हैपीस्थित कार्यालय परिसरमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको थियो। रासस



