गर्मीको महिनामा घामबाट बच्न र स्वस्थ्य रहन के गर्ने

गर्मीको महिनामा घामबाट बच्न र स्वस्थ्य रहन के गर्ने

गर्मीको महिना अनि चर्को घामबाट बच्न केही सावधानी अपनाउनु पर्छ किनभने यसले तपाईको सौन्दर्य र स्वस्थ्यमा असर गर्न सक्छ । घामबाट आउने अल्ट्राभाइलेट विकिरणले छालाको सम्पर्कमा आउँछ । यसले छालालाई रुखो र कालो बनाउँछ । त्यस्तै खाली पेट घरबाहिर निस्कनु पनि उपयुक्त हुँदैन । यसले स्वस्थ्यसम्बन्धी समस्या निम्त्याउँछ ।

छालाको सुरक्षा कसरी गर्ने

– चर्को घाममा निस्कनुअघि पुरै शरीर ढाक्ने पहिरन उपयुक्त हुन्छ । यसले घामको सोझो असरबाट छालालाई जोगाउँछ । कपडाले नढाकिएको भागमा सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ ।

– सूर्यबाट निस्कने युभिबी भन्ने अल्ट्राभायोट किरणलाई सन प्रोटेक्सन फ्याक्टरले रोक्न सक्छ ।

– हावापानी अनुसार सन प्रोटेक्सन क्रिमको एसपिएफ अर्थात सन प्रोटेक्सन फ्याक्टर पनि फरक–फरक हुन्छ । त्यसैले आफु बस्ने स्थानको हावापानी अनुसार उपयुक्त एसपिएफको क्रिम लगाउनु पर्छ ।

– घरबाहिर निस्कनु १५ मिनेटअघि नै क्रिम लगाउनुपर्छ । दुई तीन घण्टापछि यसको प्रभाव कम हुन्छ । त्यसैले केही घण्टाको फरकमा पुन क्रिम लगाउनुपर्छ ।

– चर्को घाममा हिँडडुल गर्दा छाता ओड्नु राम्रो हो । यसले घामको रापलाई रोकेर सितलता मात्र प्रदान गर्दैन, छालालाई पनि जोगाउँछ । साथै यस मौसममा पानी पर्न सक्ने भएकाले त्यस्तो अवस्थामा पनि काम लाग्छ ।

– खरबुजा, स्याउ जस्ता रसयुक्त फलफूलको सेवन गर्नु पर्छ । यसले शरीरमा पानीको मात्रा कम हुन दिदैन । घर बाहिर निस्कनु परे पिउने पानी पनि बोक्नुपर्छ ।

– खाली पेट घरबाहिर निस्कनु हुँदैन, यसले चर्को घाममा चक्कर लाग्न सक्छ । त्यसैले बाहिर निस्कनुअघि केही खानेकुरा सेवन गर्नुपर्छ ।

– गर्मीको मौसममा आँखालाई पनि जोगाउनुपर्छ । सूर्यको किरणको प्रभावले आँखामा असर गर्न सक्छ । आँखाको लागि यतिबेला सन ग्लास लगाउनु पर्छ ।

गर्मीमा पसिनाको दुर्गन्धबाट कसरी बच्ने ?

गर्मीमा पसिना आउनु स्वभाविक हो । पसिनाको दुर्गन्धले हामीलाई असहज बनाउन सक्छ । त्यसैले पसिनाको दुर्गन्ध हटाउन शारीरिक सरसफाईमा विशेष ध्यान दिनुपर्छ । त्यसबाहेक केहि घरेलु काइदा छन्, जसबाट पसिनाको समस्या हटाउन सकिन्छ ।

– राती सुन्तलाको बोक्रालाई नुहाउने पानीमा हाल्ने । बिहान उठेर त्यही पानीले नुहाउनुपर्छ ।

– गर्मीमा बिहान बेलुकी तौलियाले नाभी पनि सफा गर्नुपर्छ ।

– खुट्टामा पसिना आउने र दुर्गन्ध आउने समस्या भए, एउटा भाँडोमा पानी भर्ने । त्यसमा दुई चम्चा फिटकिरी हालेर खुट्टा डुबाउने ।

– आफुले नुहाउने पानीमा एक चम्चा नुन मिसाएर नुहाउनु पर्छ, यसले पनि शरीरको दुर्गन्ध हट्छ ।