बालकृष्ण ढुंगेलहरुले यो कुरा कहिले बुझ्ने ?

बालकृष्ण ढुंगेलहरुले यो कुरा कहिले बुझ्ने ?

०६३ मंसिर ५ मा विस्तृत शान्तिसम्झौता गरेपछि प्रचण्ड–बाबुरामहरुले जनयुद्धको विधिवत अन्त्य गरे । जनयुद्धका अवयवहरुको पनि केही समयको अन्तरालमा माटियामेट पारे । उनीहरुलाई शक्ति संचयको कुनै आवश्यकता परेन । उनीहरुलाई विदेशी शक्तिकेन्द्रले यसरी उचाल्यो, उछाल्यो कि उनीहरुले आफ्नो हैसियत, धरातल र गन्तव्य नै बिर्सिए । र, फगत ती शक्तिकेन्द्रको खेलौनामा परिणत भए । विरोधीहरुलाई त ‘नरेगा बाँस नबजेगा बाँसुरी’ बनाउनु नै थियो । हेर्दा हेर्दै प्रत्याक्रमणको चरणमा पुगेको दशवर्षे जनयुद्धको उपलब्धि तासको घर झै गल्र्यामगुल्र्लुम ढल्यो । नेता कार्यकर्ताहरु विभिन्न राजनीतिक धारातर्फ उछिट्टिए । विभाजन, विघटन र विसर्जनतर्फको यात्राले निकै ठूलो फड्को मा¥यो । जनता र कार्यकर्तामा निकै ठूलो निराशा पैदा मात्रै होइन, माओवादी आन्दोलनका शीर्ष नेताहरुमाथि अविश्वास, घृणा र आक्रोश चुलियो ।

पदम कुँबरहरुले जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डलाई हानेको झापड कार्यकर्ताको त्यही आक्रोशको अभिव्यक्ति थियो । यदि नेता मोहन वैद्य‘किरण’ले माओवादी आन्दोलनभित्र चुलिदो आक्रोशलाई अलग पार्टी बनाएर राजनीतिक रुपमा व्यवस्थापन गर्दैनथे भने प्रचण्डलगायत थुप्रै कमाण्डरहरु आफ्नै सदस्यहरुको आक्रोशको ठूलै मारमा पर्ने थिए । आन्दोलनभित्र जन्मिने आम अराजकतालाई नियन्त्रण गर्न सक्ने स्थिति रहने थिएन । कार्यकर्ताको ताततातो आक्रोशलाई मोहन वैद्य‘किरण’ नेतृत्वको ड्यास माओवादीले राजनीतिक रुपमा अगाडि बढाउने कोशिस ग¥यो । यो धारालाई शक्तिकेन्द्रहरुले चुनौतीपूर्ण देखे । प्रचण्ड–बाबुरामलाई सिध्याएपछि माओवादी आन्दोलन सिद्धिने विश्लेषण गरेका उनीहरुका लागि ड्यास माओवादीबाट अझ बढी असुरक्षित महसुस गरे र उनीहरुले माओवादी आन्दोलनको यो ‘ओरिजिनल’ धारालाई समाप्त पार्न विभिन्न चलखेलहरु सुरु गराए । उनीहरुले यो पार्टीभित्र पसेर पात्र र प्रवृत्तिलाई पहिचान गरे । तुलनात्मक रुपमा प्रभावशाली र महत्वकांक्षी नेताको रुपमा नेत्रविक्रम चन्द‘विप्लव’लाई उचाले, उछाले । विप्लवको महत्वकांक्षालाई राम्ररी बुझेका शक्तिकेन्द्रहरुले भरमार प्रयोग गरे र विप्लवलाई वैद्यबाट अलग गराए ।

पार्टीभित्र गतिशिल युवा पंक्तिको नेतृत्व गर्ने विप्लवलाई अलग्याएपछि माओवादी आन्दोलनको ‘ओरिजिनल’ धारा सकिने उनीहरुको विश्लेषण थियो । त्यो विश्लेषणले पनि काम नगरेपछि प्रचण्डबाट बाबुरामलाई अलग्याएर ‘क्रान्तिकारी’ धाराको नेतृत्व गर्ने बैद्यलाई प्रचण्डमा विलय गरेर सँदाका निम्ति यो धारालाई समाप्त पार्न सकिने विश्लेषणका आधारमा तत्कालीन प्रचण्ड माओवादीसँग वैद्य माओवादीको एकताको गृहकार्य अगाडि बढाइयो । ‘प्रचण्डलाई रुपान्तरण गराएर छरपरष्ट माओवादी आन्दोलनलाई पुनर्संगठित गराउन सकिन्छ र अधुरो नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न सकिन्छ भने एक पटक प्रयास गरौं न त’ भन्ने बैद्यको इमान्दारितापूर्ण प्रयासलाई पार्टीभित्रका छट्टु अवसरवादीहरुले डिजाइनमा भरमार प्रयोग गर्न खोजे ।

बैद्यको सिद्धान्तनिष्ठ एकताको अडानका विपरीत अनेक जाल,झेल, षड्यन्त्रहरु भए÷गरिए । केही पार नलागेपछि उनीहरुले बादल र गुरुङसहितको ठूलो पंक्तिलाई प्रचण्डको पार्टीमा बिलय गराए । र, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको अस्तित्वमाथि पटक पटक धावा बोलियो । तर वर्गसंघर्ष र अन्तर्संघर्षका भीषण प्रक्रियाबाट सतिसालझै बनेका नेता बैद्य र उनको पार्टीपंक्तिका अगाडि ती शक्तिकेन्द्रहरु वैचारिक, राजनीतिक रुपमा पूरै पराजित हुन बाध्य भए । उनीहरुले गोयबल्स शैलीमा गरेका भ्रामक झुठ प्रचारका बाबजुद क्रान्तिकारी माओवादी जनताबीचमा गयो । र, माओवादी आन्दोलनको क्रान्तिकारी धारालाई संगठित गर्दै फेरि सशक्त बन्दै अगाडि बढ्ने प्रयत्नमा अगाडि बढि नै रह्यो । फेरि पनि दक्षिण र बाम कोणबाट मात्र होइन, देशी विदेशी प्रतिक्रियावादी कोणबाट भइरहेको आक्रमणको विरुद्ध यो पार्टी लडिरहेको छ र लडाइँकै बीचबाट यसले आफूलाई श्रेष्ठ सावित गर्दै जानु ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको नियम नै हो ।

माओवादीहरु नै आज यसरी ‘वास्तविक माओवादी’लाई सिध्याउन ज्यान फालेर लागेका छन् भने तितरवितर अवस्थामा पुगेका, जनताबाट कटेका र शक्तिहीन भएका हिजो जनयुद्धमा सहभागी भएका नेता कार्यकर्ताहरुलाई एक एक गरेर भौतिक रुपमै सिध्याउन तिनै देशी विदेशी शक्तिकेन्द्रहरु लागिरहेका छन् । जनयुद्धकालीन मुद्दा ब्युँताएर उनीहरु केन्द्रदेखि स्थानीय स्तरका माओवादी नेताहरुलाई जेल हाल्ने अभियानमा लागेका छन् । अहिले माओवादी केन्द्रका नेताहरुले व्यवस्था बदलियो, जनवादी क्रान्ति पूरा भयो, सिंहदरबारको अधिकार गाउँ नगरमा आइपुग्यो भनेर स्यालहुइँयया चलाउँदै गर्दा पुरानो प्रतिक्रियावादी व्यवस्थाको प्रतिक्रियावादी अदालतले जन्मकैदको फैसला सुनाएको आफ्नै पार्टीका नेतालाई जेल हाल्न प्रधानमन्त्रीको नाममा सर्वोच्च अदालतले सात दिने वारेन्ट जारी गर्दा केवल मूक दर्शक बनिरहेका छन् । आफै प्रधानमन्त्री रहेको अवस्थामा त जनयुद्धकालीन मुद्दामा नेता कार्यकर्ताहरु जेल जाने स्थिति रहन्छ भने सरकारबाट बाहिरिएपछि माकेजनको स्थिति के हुन्छ ? दुईपटक प्रधानमन्त्री भएर पनि जनयुद्धका १०५४ जना वेपत्ता योद्धाहरुको स्थिति पत्ता लगाउन नसक्ने प्रचण्डलाई नै सरकारबाट बाहिरिएपछि चितवनको माडी घटनाले उनलाई बस्न खान देला ? जनयुद्धकालीन मुद्दाहरुलाई सत्यनिरुपण आयोगमार्फत् किनारा लगाउने सहमतिका विपरीत यसरी जनयुद्धकाली मुद्दामा कार्यकर्ताहरु जेल जाँदा पनि उनले केही गर्न नसक्नुले उनको वास्तविक हैसियतलाई प्रष्ट्याउँछ । शक्तिकेन्द्रसँग जतिसुकै लम्पसार परे पनि प्रचण्डहरु सुरक्षित छैनन् । घटनाक्रमहरुले यही तथ्य उजागर गर्दै लगेको छ । जनयुद्धका जनयोद्ध र एजेण्डा नेपाली विशिष्टतामा आधारित सशस्त्र विद्रोहले मात्र गर्न सक्छ । यस दिशातर्फ सच्चा क्रान्तिकारी माओवादीहरु अग्रसर र लामबद्ध हुन जरुरी छ ।

क्रान्तिमाथि प्रतिक्रान्ति हावी भएपछि संसारभर छरिएका छन् हिजो जनयुद्ध लडेका जनयोद्धाहरु– हातमुख जोर्ने सिलसिलामा । अधिकांशले अभावको कष्टकर जीवन बिताइरहँदा माओवादी आन्दोलनभित्र मुठ्ठिभरलाई ऐस आरामको जिन्दगी छ । ‘लाखौको लागि उजाड छ यो देश, मुठ्ठिभरलाई त स्वर्ग छ’ भनेजस्तै भएको छ । माओवादी आन्दोलनबाट आएका मुठ्ठिभर नेताहरु नवधनाढ्य वर्गमा फेरिएका छन् । उनीहरुका लागि जनयुद्ध, जनयुद्धका एजेण्डा, जनताबीचमा गरेको बाचा र सहिदहरुसामु गरेको संकल्प ‘खोला त¥यो, लौरो बिस्र्यो’ जस्तै भएको छ । तर इतिहासले तिनीहरुसँग अवश्यै हिसाब किताब माग्ने छ र उनीहरु इतिहासको कठघरामा खडा हुनै पर्नेछ । फेरि उठ्ने सशस्त्र जनविद्रोहले त्यसको हिसाब किताब अवश्य गर्नेछ ।

समाजमा शोषण, उत्पीडन र विभेद कायम रहुन्जेलसम्म क्रान्ति सँधै आवश्यक र सम्भव रहन्छ । प्रत्याक्रमणको चरणमा पुगेको नेपाली जनताका विद्रोह अहिले रक्षामा धकेलिएको भए पनि फेरि उत्कर्षमा अवश्यै पुग्नेछ । कुनै पनि चिज यथास्थितिमा रहन सक्दैन । समाज गतिशिल छ । यही गतिशिलताले विद्रोहको ज्वारभाटा उराल्नेछ । र, साँच्चै एक दिन यो मुलुकमा श्रमजीवि, शोषित–उत्पीडित जनता अधिकार सम्पन्न भएको जनताको राजनीतिक व्यवस्था स्थापित हुनेछ । यो नै समाज विकासको अनिवार्य नियम हो । समाज यही व्यवस्था भएर मात्र अगाडि बढ्नेछ । त्यस बेला मात्र बालकृष्ण ढुंगलहरुमाथि वास्तविक न्याय हुनेछ । गणतन्त्रकै निम्ति जीवनको उर्जाशिल समय खर्चेर ल्याएको कथित लोकतान्त्रिक गणतन्त्रमा जेल जानुपर्ने स्थितिले बताउँछ । यो लोकतान्त्रिक गणतन्त्रको आवरणमा प्रतिक्रियावादी नै व्यवस्था हो । यो व्यवस्था बदल्ने क्रान्तिकारी माओवादीहरुले प्रण नगरे अरु कसले गरिदिन्छ । आउनुहोस्, फेरि इतिहासले तपाईं हाम्रो काँधमा सुम्पेको यो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताका मुठ्ठि उचालौं ! बालकृष्ण ढुंगेलहरुले विद्रोहको झण्डा नउचाली सुख छ र ?