मैना सुनुवार हत्याकाण्डमा तीन पूर्व सैनिकलाई दोषी ठहर गर्दै कैद सजायको फैसला

मैना सुनुवार हत्याकाण्डमा तीन पूर्व सैनिकलाई दोषी ठहर गर्दै कैद सजायको फैसला

काठमाडौं । जनयुद्धकालमा भएको निकै चर्चित घटना मैना सुनुवारको चरम यातना र हत्यामा दोषी ठहर गर्दै नेपाली सेनाका तीन पूर्व अधिकृतलाई २० वर्षको कैद सजाय सुनाइएको छ ।

सन् २००४ मा मैना सुनुवारलाई काभ्रेको पाँचखालस्थित सैनिक ब्यारेकमा बन्दी बनाइ हत्या गरेको अवस्थामा फेला पारिएको थियो ।

लामो समयपश्चात आएको फैसलामा जिल्ला अदालत काभ्रेले सेनाका पूर्व महासेनानी बबी खत्री, पूर्व सहसेनानी अमित पुन र सुनीलप्रसाद अधिकारीलाई जेल सजाय सुनाएको हो ।

त्यसबेला सुनुवारलाई पक्राउ गर्नमा सामेल भनिएका तत्कालीन क्याप्टेन निरञ्जन बस्नेतलाई भने अदालतले सफाइ दिएको छ ।

अदालतका रजिष्ट्रार कृष्ण अधिकारीले बस्नेत केवल पक्राउमा मात्र सामेल भएको पाइएको र यातना वा हत्यामा उनको जिम्मेवारी नदेखिएको भन्दै अदालतले निर्दोष ठहर गरेको बताएका छन् ।

अदालती प्रक्रियामा ती कुनै सैनिक अधिकारी उपस्थित भएका थिएनन् । उनीहरुलाई तत्काल पक्राउ गरिने हो वा होइन भन्ने बारेमा केही खुलाइएको छैन । यद्यपि उनीहरुले यसका लागि माथिल्लो अदालतमा पुनरावलोकनका लागि निवेदन दिन पाउनेछन् ।

नेपाली सेनाले सन् २००५ मै आफ्ना एक उपरथी किरण समशेर थापाको नेतृत्वमा गठन गरिएको जाँचबुझ बोर्डले सुनुवारको हत्या प्रकरणबारे छानबिन गरेको र दोषी पाइएका तीनजना सैनिक अधिकारीलाई कारबाही गरिसकेको बताउँदै आएको छ ।

त्यसबेला सेनाले खत्री, अधिकारी र पुनःलाई हेलचेक्र्याइपूर्वक काम गरेकोमा दोषी ठहर गर्दै ६ महिनाका लागि निलम्बन गरी हिरासतमा राखिएको बताएको थियो ।

तीनैजना सैनिक अधिकारीलाई सुनुवार परिवारलाई नगद क्षतिपूर्ति उपलब्ध गराउन पनि उक्त कोटमार्शल बोर्डले आदेश दिएको थियो ।

त्यसपछि पुन र अधिकारीले सेनाबाट राजीनामा दिएका थिए भने महासेनानी खत्रीको म्याद थप गर्ने प्रस्ताव सन् २००९ मा रक्षा मन्त्रालयले अस्वीकार गरेको थियो ।

सो मुद्दाको सुनवाई गर्दै काभ्रे जिल्ला अदालतले सन् २००८ मा आरोपित सेनानी निरञ्जन बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

तर त्यसको दूई वर्षपछि बस्नेतलाई नेपाली सेनाले राष्ट्रसंघीय मिसन चाडमा पठाएको खुलासा भएपछि राष्ट्रसंघले सो मुद्दामा चासो प्रकट गरेको थियो ।

त्यसबेला उनलाई मिसनबाट फिर्ता गर्दै उनीविरुद्ध कारबाही अघि बढाउन राष्ट्रसंघका अधिकारीले नेपाल सरकारसँग माग गरेका थिए । नेपाल फर्किए लगत्तै सैनिक मुख्यालय लगिएका बस्नेतको पछिल्लो अवस्थाबारे नेपाली सेनाले कुनै पनि विवरण दिएको छैन ।

सो मुद्दाको सुनवाई सन् २०१३ मा स्थगित गरिएपनि मैनाकी आमा देवी सुनुवारले त्यसलाई चुनौती दिएपछि गत वर्षबाट काभ्रे जिल्ला अदालतले पुनः सुनुवाई सुरु गरेको थियो ।