काठमाडौं । नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न त्यसको तयारी स्वरुप नेकपा (क्रान्तिकारी माओवादी)ले क्रान्तिको तीन जादुगरी हतियार– पार्टी, सेना र संयुक्त मोर्चाको अवधारणा अन्तर्गत गठन गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले छोटै अवधिमा देशव्यापी रुपमा संगठनको जालो फिंजाएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय तहको निर्वाचनको मोर्चामार्फत् ‘क्रान्तिकारी उपयोग’ गर्ने नीति लिएपछि पार्टीभित्र र बाहिरबाट मोर्चाप्रति आकर्षण बढेर गएको छ । केन्द्र, राज्य, जिल्ला, नगर÷गाउँ हुँदै वडासम्म देजमो फैलदै गएको छ ।
मोर्चाको केन्द्रीय कार्यालय स्रोतले जनाए अनुसार हाल देशैभर ५० भन्दा बढी जिल्लामा देजमोका जिल्ला कमिटिहरु छन् भने वडासम्म फैलने क्रममा छन् । स्थानीय तहको निर्वाचन अगाडि नै बाँकी रहेका जिल्लाहरुमा जिल्ला कमिटिहरु बनाइसक्ने र वडा वडासम्म संगठनको जालो फिजाउने लक्ष्य राखिएको छ । पार्टी र देजमोका नेताहरु अहिले जिल्ला जिल्लामा संसदवादीहरुको भण्डाफोर र संगठन विस्तारको कार्यक्रमलाई एकैसाथ लिएर गएका छन् ।
“स्थानीय तहको निर्वाचनको क्रान्तिकारी–उपयोग गरौं !, देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो), नेपालका उम्मेदवारहरुलाई अत्यधिक मतले–विजयी गराऔं !, सामन्त, दलाल, नोकरशाही र प्रतिकृयावादी तत्वहरुको–भण्डाफोर गरौं !, राष्ट्रघाती, जनघाती र भ्रष्टाचारी तत्वहरुको – भण्डाफोर गरौं !, पश्चगामी संविधान – खारेज गरौं !, संघीय जनगणतान्त्रिक संविधान – निर्माण गरौं !, दक्षिणपन्थी संशोधनवाद – मुर्दावाद !, साम्राज्यवाद, विस्तारवाद – मुर्दावाद !, देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो), नेपाल – जिन्दावाद !” नारा लिएर जनता बीचमा गएको देजमोले निर्वाचनका दौरानमा राष्ट्रघाट, जनघात, भ्रष्टाचार र संविधानसँग सम्बन्धित विषयहरु लगायत स्थानीय मुद्दाहरु समेत जोडेर ने.का., एमाले, माओवादी केन्द्र र राप्रपा जस्ता प्रतिगामी, प्रतिकृयावादी र प्रतिकृयावादोन्मुख पार्टी र तत्वहरुको व्यापक भण्डाफोर गर्ने नीति लिएको छ । त्यसका लागि जनसभा, जनप्रदर्शन, गोष्ठी, अन्तरकृया लगायतका कार्यक्रमहरु तय गरिएको सम्बद्ध कार्यालय स्रोतले जनाएको छ ।
मोर्चाको २०७३ भाद्र २६ र २७मा सम्पन्न राष्ट्रिय भेलामा अध्यक्ष सी.पी.गजुरेलद्वारा प्रस्तुत र पारित घोषणा पत्रमा भनिएको छ, “नेपाली समाज पछिल्ला दशकमा दश वर्षको महान जनयुद्ध (२०५२–२०६२) र ऐतिहासिक जनआन्दोलन (२०६२÷०६३)कोे क्रान्तिकारी आन्दोलनको आँधी बेहरी र उथल–पुथलमय समयबाट गुज्रियो । यो जनक्रान्तिले पूर्णता पाउने आसा गरेका नेपाली जनताले त्यसको ठिक विपरीत अर्को प्रतिक्रान्तिको शृंखलाको सामना गर्नु प¥यो । अहिले पनि नेपाली समाज त्यही शृंखलाबाट गुज्रिरहेको छ ।
शोषणका रुपहरुमा केही हेरफेर अवश्य भएको छ । तर नेपाली समाज अहिले पनि दलाल र नोकरशाही पुँजीपतिवर्ग र सामन्तवर्गको उत्पीडन र शोषणबाट पिल्सिरहेको छ भने साम्राज्यवाद र विस्तारवादको वाह्य उत्पीडनको शिकार भएको छ । नेपाली समाजमा विद्यमान यो अन्तरविरोधको समाधान फेरी अर्को सशक्त संघर्ष, सशक्त जनआन्दोलन, र अग्रगामी क्रान्तिले मात्र गर्न सक्ने छ । त्यसको तयारीका लागि यो मोर्चाको टड्कारो आवश्यकता छ ।”
रामेछाप र दैलेखमा विशाल जनसभा सम्पन्न
रामेछापबाट प्राप्त समाचार अनुसार जिल्लाको सुनापाति गाउँपालिकामा भव्य रुपमा जनसभा सम्पन्न भएको छ । मोर्चाको केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न जनसभामा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पूर्वी ताम्सालिङका इन्चार्ज राम आचार्य, पार्टी केस तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका सहसंयोजक फुर्नाम्गेल लामा, पार्टीका केस तथा रामेछाप जिल्ला इन्चार्ज गणेश बहादुर खड्गी‘गगन’, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष निमा दोर्जे लामा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
प्रवीण तामाङले संचालन गरेको कार्यक्रममा हजारौंको संख्यामा स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
त्यसैगरी दैलेखबाट प्राप्त समाचार अनुसार जिल्लाको चामुण्डा विन्द्रसौनि नगरपालिकामा वृहत् जनसभा सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय सचिव परि थापाको प्रमुख आतिथ्यतामा भएको उक्त जनसभामा सचिव थापा, पार्टीका कार्यालय सदस्य तथा प्रवक्ता हरिभक्त कँडेल, पार्टीका सचिवालय सदस्य तथा थारुवान राज्यका इन्चार्ज हर्क बहादुर शाही, पार्टी केस तथा दैलेख इन्चार्ज दिपक शाही, शिक्षक नेता तर्क थापा, दीघी शाही, मानबहादुर, भरत रेग्मी लगायतले सभालाई सम्बोधन गरेका थिए । पार्टीका जिल्ला सेक्रेटरी विरेन्द्र सिंह‘अशोक’को अध्यक्षतामा सम्पन्न भएको उक्त जनसभाको संचालन विध्यार्थी नेता जगदिश शाहीले गरेका थिए । हजारौंको संख्यामा उपस्थित जनसभामा माके, एमाले, कांग्रेस, नेकपा लगायत पार्टी परित्याग गरेर करिब २ सय नेता कार्यकर्ता देजमोमा प्रवेश गरेको नेता दिपक शाहीले बताए ।
कहाँ कहाँ बन्यो संगठन ?
देशैभरि देजमोको संगठन तीव्र बनेको छ । देजमोका कार्यालय सचिव हरिकृष्ण गजुरेलले दिएको जानकारी अनुसार रामबहादुर केसीको नेतृत्वमा ३५ सदस्सीय राज्य कमिटि बनेको छ भने यमबहादुर शाहको संयोजकत्वमा ३५ सदस्यीय र पाँच सदस्यीय सल्लाहकार कमिटि बनाइएको छ । कैलालीको धनगढी उपमहानगरपालिकामा छत्र भूपतको संयोजकत्वमा ५१ सदस्यीय नगर कमिटि गठन गरिएको छ ।
यता मिथिलामा रोशन जनकपुरीको नेतृत्वमा १५ सदस्सीय, धनुषामा ११ सदस्सीय– नन्दकुमार झाको संयोजकत्वमा, महोत्तरीमा ९ सदस्यीय बलिराम यादवको संयोजकत्वमा, सिरहामा ९ सदस्यीय किरण अधिकारीको नेतृत्वमा बनेको छ ।
त्यसैगरी पूर्वी ताम्सालिङको काभ्रेमा ५१ सदस्सीय– गोपाल घिमिरे, रामेछाप–१९ सदस्यीय– लाङ्घाली मगरको नेतृत्वमा बनाइएको छ भने किरातको उदयपुरमा ११ सदस्यीय– लिल बहादुर विश्वकर्माका नेतृत्वमा, खोटाङमा ७ सदस्यीय शुभचन्द्र राईको संयोजकत्वमा ओखलढुंगामा ११ सदस्यीय– पेमडोमा शेर्पाको नेतृत्वमा देजमोका कमिटिहरु निर्माण गरिएका छन् ।
यता नेवा राज्यमा गोर्की श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कमिटि निर्माण गरिएको छ भने काठमाडौंमा २९ सदस्यीय किरण शाहीको संयोजकत्वमा, ललितपुरमा ३५ सदस्यीय निरञ्जन श्रेष्ठ संयोजकत्वमा देजमोका जिल्ला कमिटिहरु निर्माण गरिएका छन् भक्तपुरमा देजमो गठनको अन्तिम तयारीमा रहेको छ ।
त्यसैगरी पश्चिम मगरातबाट प्राप्त जानकारी अनुसार सल्यानमा राजेन्द्र शाहको संयोजकत्वमा १७ सदस्यीय जिल्ला कमिटि निर्माण गरिएको छ भने प्यूठानमा गोपाली नेपालीको नेतृत्वमा ३५ सदस्यीय कमिटि बनाइएको छ ।
यता पूर्वी मगरातको गुल्मीमा ११ सदस्यीय केशव अधिकारीको नेतृत्वमा, पाल्पामा १५ सदस्यीय मकबुल अलिको नेतृत्वमा देजमोका जिल्ला कमिटिहरु बनेका छन् भने पश्चिम ताम्सालिङको चतवनमा अशोक शर्माको संयोजकत्वमा २५ सदस्सीय जिल्ला कमिटि बनेको छ । त्यसैगरी नुवाकोटको २५ सदस्यीय कमिटिको नेतृत्व नारायण अधिकारीले गरेका छन् ।
तमुवानबाट प्राप्त समाचार अनुसार भीम बहादुर श्रीस मगरको संयोजकत्वमा कास्कीमा २१ सदस्यीय कमिटि निर्माण गरिएको छ भने छवि घलेको नेतृत्वमा गोरखामा देजमोको जिल्ला कमिटि बनेको छ ।
त्यसैगरी अवधको नवलपरासीमा ३५ सदस्य कमिटिको नेतृत्व वृजदेव पाण्डेले गरेका छन् भने कोचिला राज्यमा मनोज श्रेष्ठको नेतृत्वमा ३५ सदस्यीय कमिटि गठन गरिएको छ । मोरङमा ४५ सदस्यीय शान्तिराम गिरीको नेतृत्वमा, सुनसरीमा ३५ सदस्यीय कमिटि पशुपति आचार्यको नेतृत्वमा बनेको छ ।
उता सेमबाट प्राप्त जानकारी अनुसार सेममा शिवराज बजगाईको संयोजकत्वमा १५ सदस्यीय कमिटि बनेको छ भने बैतडीमा १५ सदस्यीय हजारी चन्दको संयोजकत्वमा, बझाङमा १५ सदस्यीय जयबहादुर धामीको नेतृत्वमा, डडेलधुरामा १३ सदस्यीय कमिटिको चक्र पार्कीले नेतृत्व गरेका छन् भने डोटीमा कृष्ण श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कमिटि बनेको छ ।
सबै गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दिने तयारी
देजमो, नेपालले स्थानीय तहको निर्वाचनमा देशैभरिका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा उमेदवारी दिने तयारी गरिरहेको छ । जनताबीचमा लोकप्रिय रहेका र स्वच्छ छवि भएका नेताहरुलाई उम्मेदवारको रुपमा उठाउने तयारी मोर्चाले गरेको बुझिएको छ । गाउँपालिका र नगरपालिकाको सिफारिशमा सम्बन्धित जिल्लाले उम्मेदवारको टुंगो लगाउने मोर्चाको निर्णय अनुसार सबै जिल्लाका जारी बैठकहरुले उम्मेदवारको टुंगो लगाउने स्रोतले बतायो ।
दलीय चुनाव चिन्हका लागि आन्दोलन
देजमो नेपालले दलीय चुनाव चिन्हसहित स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनु पर्ने माग राख्दै ६८ दलसँगै आन्दोलन गरिरहेको छ । दल दर्ता, चुनाव चिन्ह र छुटेका मतदाताहरुको मतदाता नामावलीमा नाम समावेशलाई प्रमुख मुद्दा बनाएर मोर्चाले ६८ दलीय आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । पछिल्लो पटक संघीय गठबन्धनले समेत ६८ दलको आन्दोलनलाई समर्थन गरिसकेको छ । यस पृष्ठभूमिमा निर्वाचन पछाडि धकेलिने र मोर्चाका मागहरुको सम्बोधन हुने परिस्थिति बन्दै गएको देखिन्छ । चुनाव पर सरेको खण्डमा जनताबीचमा जाने समय हुने र मोर्चाका नीति तथा कार्यक्रमलाई स्पष्ट पार्दै धेरै भन्दा धेरै जनतालाई मोर्चामा आवद्ध गराउन सकिने विश्लेषण पनि मोर्चाको रहेको स्रोतले बतायो ।