‘तीन दलीय अधिनायकवादका विरुद्ध दृढतापूर्वक लडौं !’

‘तीन दलीय अधिनायकवादका विरुद्ध दृढतापूर्वक लडौं !’

काठमाडौं । दलीय चुनाव चिन्हका लागि आन्दोलनरत ६८ दलको जारी रिले अनसनलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले तीन दलीय अधिनायकवादका विरुद्ध दृढतापूर्वक लड्न आन्दोलनरत दलहरुसँग आग्रह गरेका छन् । शनिबार अनसन स्थल रत्नपार्कको शान्तिबाटिकामा पुगेर अध्यक्ष बैद्यले यस्तो आग्रह गरेका हुन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले लादेको सिन्डिकेटका विरुद्ध सबैका जायज माग पूरा गर्दै अगाडि बढ्नुपर्नेमा अध्यक्ष बैद्यले जोड दिए । दल दर्ता, चुनाव चिन्ह प्रदान र छुटेका मतदाताहरुको नाम मतदाता नामावलीमा समावेश नहुन्जेल एकताबद्ध भएर लड्न आन्दोलनरत दलहरुलाई आग्रह गर्दै अध्यक्ष बैद्यले तीन दलीय तानाशाहहरुसँग सुटुक्क तरिकाले सम्झौता नगर्न पनि सचेत गराए ।

लोकतन्त्र भनेको विविधताबीचको एकता हो भन्दै अध्यक्ष बैद्यले तीन दलले ६८ दल, मधेसी मोर्चासहितको संघीय गठबन्धनलाई पाखा लगाएर र निषेध गरेर लोकतन्त्रको सौन्दर्यलाई कुरुप बनाएको टिप्पणी गरे ।

मधेसी मोर्चासहित क्रान्तिकारी माओवादीले वर्तमान संविधानबाट जनताको समस्या समाधान नहुने ठहर गरी संविधान जलाएको प्रसंग उल्लेख गर्दै संविधानको जनविरोधी चरित्रले उक्त तथ्य पुष्टि गरेको पनि दावी गरे ।

यसैबीच, अध्यक्ष बैद्यले काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको आयोजनामा संचालित रिले अनसनलाई पनि सम्बोधन गर्दै जनताको वेदना, मर्म र दुःख सुन्न सरकार तयार नरहेको आरोप लगाए । उनले भने, “भन्नका लागि लोकतान्त्रिक सरकार भनिन्छ तर लोकतन्त्रको नाममा तीन दलीय अधिनायकवाद लागू भइरहेको छ ।”
अनसनरत सडक विस्तार पीडितहरुको सुस्वास्थ्यको कामनासहित जायज माग तत्काल पूरा गर्न अध्यक्ष बैद्यले सरकारसँग माग पनि गरे र आन्दोलन सशक्त पार्न पीडितहरुसँग आग्रह पनि गरे ।

यसैबीच, अनसनको पहिलो दिन सबम्बोधन गर्दै नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पंचायत ब्यँुताउने काममा लागेको गम्भीर आरोप लगाएका छन् ।

“प्रचण्डको नेतृत्वमा बनेको सरकारले नयाँ ढंगले पंचायत व्यँुताउने कामको नेतृत्व गरिराखेको छ । यो हाम्रो लागि दुःख र लज्जाको विषय हो ।”

दलहरुहरुलाई चुनाव चिन्ह नदिनु प्रतिक्रान्ति र संविधान विपरीत भएको जिकिर गर्दै भट्टराईले ‘विगतका सहयात्री साथीहरु जो आज सत्तामा पुगेका छन्, उनीहरुले पुरानै अभ्यास गरेका छन् । हामीले लडेर ल्याएको बहुदलीय प्रजातन्त्र खोस्ने र दलीय पहिचान अन्त गर्ने तथा निर्वाचनमा चुनाव चिन्हसहित जाने संविधानले दिएको अधिकार खोस्ने दुस्साहस गरेका छन् । यो भन्दा ठूलो प्रतिक्रान्तिको नमुना के हुन सक्छ ?’ प्रश्न गरे ।

घोषित स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै ६८ दलले संयुक्त संघर्ष जारी राखेका छन् । वैशाख २ गतेदेखि ८ गतेसम्म दलहरुले रत्नपार्कस्थित शान्तिबाटिकामा रिले अनसनको कार्यक्रम जारी राखेका छन् ।