
हिजो शुक्रबारदेखि नयाँ बर्स सुरू भयो । यो पृथ्वीलोकको नेपाल मण्डलमा मात्र लागू हुने वर्ष हो, विक्रम सम्वत । गुज्जर भैय्याको हिन्दूस्तानी मण्डलतिर पनि यो वर्षलाई मान्ने चलन त छ, तर त्यो पात्रोमा मात्रै सीमित हुन्छ । व्यवहारमा त उनीहरूले अङ्ग्रेजी वर्षलाई नै मान्छन् । किनकि उनीहरूको राजनीतिक गुरु र विकासे गुरु पनि तिनै अङ्ग्रेजी कुइरे भएको हुनाले उनीहरूले अङ्ग्रेजी वर्षलाई व्यवहारमा पालना गरेका हुन् । जे होस् नेपाल मण्डलमा चाहिँ हिजोदेखि वर्ष फेरिएको छ । हिजोबाट २०७३ लाई विदा गरेर २०७४ लाई घरमा भित्र्याएका छौँ । वर्ष भित्र्याउँदा यहाँका रैती मनुवाहरूले गच्छेअनुसार स्वागत सत्कार गर्ने गर्छन् । कुखुरा, सुँगुर, खसी, राँगा काटेर नयाँ वर्षको उपलक्षमा मासु खान्छन् । खिर, पुडी पकाएर खाँदै शुभकामना आदान प्रदान गरेर नयाँ वर्ष मनाउने चलन सनातनदेखि चलिआएको छ । अचेल फेसबुके र टुइटे दुनियाँ भएकाले फेसबुक र टुइटेका भित्तामा रङ्गीन अक्षर लेखेर शुभकामना दिने, लाइक र शेयर गरेर नयाँ वर्षको स्वागत गर्ने फेसन चलेको छ । सबैका हातहातमा मोवाइल भएकाले फोन गरेर शुभकामना दिने लिने गरिन्छ ।
यसरी दिने लिने गरेका शुभकामनाले मनुवाको साँच्चै शुभ भएको भने यो कैलुब्राहले कहिल्यै देख्न पाएको छैन । सरकारी पगरी गुथेका लाउकेदेखि पार्टी चलाउने टाउकेसम्मले देशवासी रैती मनुवाहरूका नाममा नयाँ वर्षको शुभकामना दिने होडवाजी चल्छ । यो वर्ष त झन् चुनाउ गर्ने वर्ष भएकोले होला केही पार्टीका भुरेटाकुरे नेतादेखि केन्द्रका जेठासम्मले शुभकामना कार्ड छापेर भोटर मनुवाका घरघरमा पु¥याएको पनि देख्न पाइयो । भोट माग्ने कस्तो गजवको काइते काइदा । भोटर मनुवा पनि पार्टीको नेताले आपूmलाई सम्झिएर आफ्नै नाउमा कार्ड पठायो भनेर मखलेल । नेताले उसलाई होइन उसको भोटलाई सम्झिएको हो भन्ने बबुरो भोटर रैतीलाई के थाहा । अहिले शुभकामना दिने नेताले चुनाउ जितेर कुभलो गरेको उसले पत्तै पाउँदैन । अहिले कार्ड छापेको पैसा भोली विकासे बजेटबाट अशुलउपर गरेको कुरा उसले सुइँको पाउँदैन । जस्ले जस्लाई शुभकामना दिन्छ त्यसैले त्यसैको कुभलो चिताएर त्यस्तै काम गरेपछि किन शुभ होस् । अशुभ मात्रै हुने त हो । यहाँ सँधै अशुभै अशुभ मात्रै मौलाएको छ ।
सँधै नयाँ वर्ष आइरहन्छ, सँधै शुभकामना साटासाट गरिन्छ तर शुभ हुने कहिल्यै होइन । अब त यो शुभकामना दिने प्रचलन पनि पित्रहरूको श्राद्धे गरे जस्तै हुन थाल्यो । वर्ष वर्षमा श्राद्धे ग¥यो सकियो । मरेका पित्रहरूको श्राद्धे गर्दाको दिन छाक छोडेर, असन चिज (जाँड, रक्सी, माछा मासु आदि) नखाएर, बिहान बिहानै पण्डित बोलाएर वैदिक विधि विधानअनुसार पिण्ड तरपण दिएर पण्डित र कन्याहरूलाई टीका लगाएर दान दक्षिणा ग¥यो, श्राद्धे सकियो । त्यसपछि त बाँकी दिनमा जाँड रक्सी धोक्यो, स्वास्नी छोराछोरीलाई लौरोले ठोक्यो, बाबु बाजेले बचाइदिएको सम्पत्ती पोख्यो, टोल छिमेकमा खोक्यो, सडेको विचार बोक्यो, चुनाउमा पुरानै पार्टीका हड्डी टोक्यो । यस्तो छ नयाँ वर्षमा शुभकामना दिने लिनेहरूको काइदा ।
हरेक वर्ष फेरिने साल भने नयाँ हुन्छ तर शुभकामना सँधै पुरानै हुन्छ । साल फेरिँदा एकएक अङ्क बढ्छ तर शुभकामनाको भाषा, शैली, अक्षर एउटै हुन्छ । पत्रिकाले पोहर सालकै शुभकामना कपि गरेर अहिलेकोमा पेस्ट गरेर छापिदिन्छ । रिरिबाजा र टेलिभिजनले पोहरकै रेकर्ड सुनाउँछ । त्यो कहिल्यै नयाँ भएको कैलुब्राहले देख्नै पाएको छैन । त्यै भएर कसैको पनि शुभ नभएको हो भन्ने कैलुब्राहको ठहर छ । शुभकामना नयाँ भए पो शुभ पाउने मनुवाको शुभ हुँदो हो । दलका लाउकेदेखि सरकारका टाउकेसम्मका उपरवालेहरूको शुभकामना सन्देश रैती मनुवाका नाममा हुन्छ । यति धेरैले शुभकामना दिँदा पनि रैतीको शुभ भएको कहिल्यै होइन । त्यसैले कैलुब्राहले यस वर्षको शुभकामना नयाँ ढङ्गबाट दिने ठहर गरेको छ । त्यो पनि रैतीलाई होइन माथिका सरकारी टाउके र दलका लाउकेहरूलाई । शुभकामना यस्तो छ —
महामहिम म्याडम आधापति महोदय, कामरेड उपपति महोदय, मिस्टर प्रम सुप्रिमो महोदय, झगडिया उप त्रय महोदय, सबै लाउके मन्त्री महोदय, म्याडम कामरेड आधामुख महोदय, पार्टीलाई सहयोग गरेकादेखि साक्षात रैतीलाई मम ख्वाएर माथि पुगेका माननीयसावहरू, नेपाल सरकार र लैनचौरबाट दुबै हातले तलव डकारेर राष्ट्रसेवामा अहोरात्र खटिएका उच्च र विशिष्ट तहका राष्ट्रसेवकहरू, ब्रिफकेश बोकेर बढुवाका लागि दलका दैलो दैलोमा धुपबत्ती बाल्न हिँड्ने अनि रैतीका टाउकामा लाठी र बन्दुक बर्षाएर सुरक्षा गर्ने सुरक्षाकर्मीहरू, देशको सीमा मिचिँदा टुलुटुलु हेरेर बस्ने तर आफ्ना रैतिले अधिकार मागेर सडकमा जाँदा तिनलाई शत्रु देखेर गोलीले उडाउने शत्रु र मित्र चिन्न नसक्ने यस्ता रतन्धो लागेका रक्षकहरू सबै सबैमा नयाँ वर्ष २०७४ सालको उपलक्षमा देशलाई जतिसक्दो चाँडो कङ्गाल बनाई, राष्ट्रका बचेखुचेका नदिनाला, खोला खोल्सी, डाँडाकाँडा, ढुङ्गा, गिट्टी, बालुवा, बनजङ्गल छिटो बेचेर देश विकास गर्ने बुद्धि पलाओस् । एयरपोर्टबाट किलोमा नभई बोराका बोरा सुन, हरिरोइन, डलर आदिको तस्करी फल्दोफाप्दो होस् । हरेक दलका पाखुरे सङ्गठनका तरुनी तन्नेरीहरू सबैलाई डनको तालिम गराएर डनको खेती मौलाओस् । आगामी चुनाउहरूमा सबै लाउके दलहरूले विदेशका धनिमानी सेँठहरूलाई पार्टीमा भित्र्याएर बंशजकै नागरिकता दिलाएर उमेद्वार बनाई गाउँको विकास गराई सबै तन्नेरी रैतीहरूलाई खाडीमा जान सहज भिसाको व्यवस्था मिलाउने सदबुद्धि पलाओस् । महङ्गी दिन दुईसय गुणा, रात चारसय गुणा बढाएर गिनिज बुकमा नाम दर्ता गराई सुडान र इथियोपयिालाई माथ गरि सगरमाथा पुग्ने हरिकङ्गाल बनाउने प्रेरणा मिलोस् । सरकार नौ महिनामा नभएर संसदमा पुगेका सबै माननीयहरूले आफ्नो कार्यकालमा एकै दिन भए पनि प्रधानमन्त्री बनेर इतिहास रच्ने अवसर पाउने व्यवस्था संविधान संसोधन गरेर भए पनि राख्ने व्यवस्था गरियोस् । पाँच जना सरकारी विशिष्ट टाउकेमात्र नभई सबै तहका संसदमा पुगेका जति सबैलाई आजिबन भत्ता सुविधा दिने व्यवस्था संविधानमा राख्न सफलता मिलोस् भन्ने हार्दिक शुभकामना दिन चाहन्छु । श्री जनवरपतिनाथले सबै लाउकेहरूको कल्याण गरुन् । हरिओम् तत्सत् ।
२ बैशाख २०७४