काठमाडौं । सोमबार राति नै प्रहरी प्रमुखको फुली पाएका प्रकाश अर्याललाई बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेर देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान प्रधानमन्त्रीलाई भेट्न पुगेका नवनियुक्त प्रहरी महानिरीक्षक अर्याललाई उनले कानुनले सुम्पेको जिम्मेवारी निष्पक्ष रुपबाट पालना गर्न निर्देशन दिएका हुन् ।
सरकारले निकै लामो रस्साकस्सीपछि सोमबार अबेर अर्याललाई प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषदले नियुक्तिको निर्णय गरेलगत्तै सोमबार नै महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।
गृहसचिव लोकदर्शन रेग्मीले राति नै मन्त्रालयका अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका उच्च अधिकारीहरूलाई बोलाएर अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरेका थिए । त्यसपछि अर्याल राति नै प्रहरी प्रधान कार्यालय पुगेर पद बहाली गरेका थिए ।
सरकारले गत माघ २९ गते डीआइजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेकोमा त्यसविरुद्ध दावेदार मध्येका एक नवराज सिलवालसमेतको रिटमा सर्वोच्चले गत चैत ८ गते सरकारी निर्णय उल्ट्याउँदै कार्य सम्पादन मूल्यांकन र वरिष्ठताको आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्न आदेश दिएको थियो ।