आत्मरतिमा रमाउँदै विप्लव र प्रचण्डका कार्यकर्ता

आत्मरतिमा रमाउँदै विप्लव र प्रचण्डका कार्यकर्ता

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको संगठन सदृढीकरण र राजनीतिक निर्णय प्रक्रियामा देखिएको परिपक्वतासँगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । विप्लवको नेकपा र माकेहरू क्रान्तिकारी माओवादीलाई सिध्याउनका लागि न्वारानदेखिको बल लगाएर लागेका छन् ।

क्रान्तिकारी माओवादीको यही चैत्र १४ र १५ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने निर्णय लिएसँगै आम क्रान्तिकारी जनताको भोट क्रान्तिकारी माओवादीलाई जाने र विप्लव पार्टीले हठात् वस्तुगत परिस्थितिको विश्लेषण समेत नगरी निर्वाचनमा भाग नलिने निर्णय गरेपछि आफूभित्र आएको संकटलाई ढाकछोप गर्नका लागि क्रान्तिकारी माओवादीमाथि प्रहार केन्द्रित गरेका छन् ।

विप्लव पार्टीले निर्वाचनमा भाग नलिने निर्णय गरेपछि सो पार्टीका तल्लो तहका धेरै कार्यकर्ता निर्वाचनमा जानुपर्ने पक्षमा रहेको र त्यसलाई ढाकछोप गर्नका लागि विषयान्तर गर्न लागेको सो पार्टी निकट स्रोतले जनाएको छ । विप्लव माओवादीका चिनिएका नेता निर्वाचनमा नगएपनि स्थानीय स्तरमा निर्वाचनमा जानुपर्ने पक्षमा ठूलो पंक्ति रहेको छ ।
विप्लव पार्टी÷माकेले जिल्ला समितिमा क्रियाशील नै नभएका र क्रान्तिकारी माओवादीमा हुँदै नभएका व्यक्तिलाई समेत क्रान्तिकारी माओवादीको रुपमा उभ्याएर प्रायोजित रुपमा पार्टी छाडेको र माके÷विप्लव पार्टीमा आएको÷एकता गरेको भनेर हल्ला फिजाइरहेका छन् ।

यसैगरी संसदीय भासमा डुबिसकेको माकेलाई क्रान्तिकारी माओवादीको चुनाव उपयोगको रणनीतिले ठूलो धक्का पुग्ने भएपछि क्रान्तिकारी माओवादीविरुद्ध भ्रामक प्रचारमा भएभरको शक्ति परिचालन गरेर लागेको स्रोतको भनाई छ । केही समयअघि क्रान्तिकारी माओवादीबाटै पलायन भएर गएको रामबहादुर थापा बादल समूहसँग एकताको नाकट मञ्चन गरेपनि स्थानीय तहको निर्वाचनमा कुनै उपलब्धी हासिल गर्ने अवस्था नदेखिएपछि क्रान्तिकारी माओवादीको जनमत खण्डित गर्नका लागि झुठा प्रचारबाजी र तिकडममा लागेका छन् ।

सोही तिकडमको पछिल्लो शृंखला उनीहरुले क्रान्तिकारी माओवादीको केन्द्रीय समिति विस्तारलाई बनाएका छन् । क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकले स्पष्ट रुपमा नै सक्रिय, क्रियाशील र क्रान्तिकारी आन्दोलनलाई दृढतापूर्वक अघि बढाउने व्यक्तिलाई बढुवाको पहिलो मापदण्ड कायम गर्ने निर्णय गरेको छ । तर, पार्टीको क्रान्तिकारी स्पिरिटलाई ध्वस्त गर्नका लागि विप्लवको नेकपा र माकेले कथित रुपमा मुद्दा उचाल्दै पार्टीभित्र हुँदै नभएको विवादलाई विवाद र खैलाबैला शीर्षकमा प्रायोजित समाचार बाहिर ल्याएका छन् । जसलाई नेकपा (क्रान्तिकारी माओवादी) ले खण्डन गरिसकेको छ ।

राजधानीकै एक पत्रकारले आफूलाई समेत नेकपा (क्रान्तिकारी माओवादी) बिघटन हुन लागेको समाचार लेखिदिन या आफूहरुले लेखेर दिएमा प्रकाशित गरिदिन आग्रह गरेपनि आफूले त्यसलाई अस्वीकार गरेको नाम उल्लेख नगर्ने शर्तमा बताए ।

उनले क्रान्तिकारी माओवादीलाई स्थापित राजनीतिक वृत्तबाट पन्छाउनका लागि सक्दो सबै हत्कण्डा अपनाउन पनि तयार रहेकाले सतर्क रहन सुझाव समेत दिएका छन् । विप्लवको नेकपा र माकेभित्रको आन्तरिक संकटलाई ढाकछोप गर्न र अनिर्णयको बन्दी बनेका कारण पार्टीभित्र जाने सम्भावित पहिरो रोक्नका लागि प्रयासरत रहेको यो घटनाबाट पुष्टि हुन्छ ।

माके आफैभित्र रहेका नेता कार्यकर्ताको व्यवस्थापन गर्न नसकेका कारण चुलिदो असन्तुष्टि र विप्लव पार्टीभित्रको गैरराजनीतिक तथा गैर क्रान्तिकारी समूहलाई व्यवस्थापन गर्न नसक्दा विघटनको नजिक पुगिसकेका बेला क्रान्तिकारी माओवादी बारेमा भ्रम फिजाइएको भन्दै यसबाट सचेत बन्न क्रान्तिकारी माओवादीले सिंगो पार्टीपंक्तिलाई आग्रह गरेको छ ।