ट्रम्पले रणनीतिकार स्टिभ बेननलाई एनएससीबाट हटाए

ट्रम्पले रणनीतिकार स्टिभ बेननलाई एनएससीबाट हटाए

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिभ बेननलाई राष्ट्रिय सुरक्षा परिषद (एनएससी) बाट हटाएका छन् ।

गत जनवरीमा बेननलाई नियुक्त गरिएपछि गुप्तचर एजेन्सीमा आबद्धहरुले परिषदमा राजनीतिकरण हुने चिन्ता व्यक्त गरेका थिए ।

नियुक्तिको चार महिनामै ट्रम्पले उच्च राजनीतिक सल्लाहकारलाई एनएससीको पदबाट हटाएका हुन् ।

बेनन राष्ट्रपति ट्रम्पको लामो समयदेखिको राजनीतिक सल्लाहकार तथा सहयोगी रहँदै आएका छन् । अमेरिकी सञ्चारमाध्यमले ट्रम्प राष्ट्रपति भएपनि सबै निर्णय बेननले गराउने गरेको टिप्पणी गर्दै आएका छन् ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै गत जनवरीमा बेननलाई एनएससीको सदस्यमा नियुक्त गरेका थिए । एनएससीको सदस्यबाट हटाइए पनि बेननको बरियतामा कुनै किसिमको तलमाथि नहुने ह्वाइट हाउसका सल्लाहकारले बताएका छन् ।

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनमाथि निगरानी गर्नका लागि बेननलाई एनएससीमा राखिएको ह्वाइट हाउस स्रोतले जनाएको छ । फ्लिनलाई रुससँगको सम्बन्धका कारण चुलिएको विवादका कारण गत फ्रेबुअरीमा हटाइएको थियो ।

तर ह्वाइट हाउसमा ट्रम्पका ज्वाईं ज्यारेड कुश्नरको प्रभाव बढ्दै गएकाले बेनन एनएससीबाट हटाइएको विश्लेषण गरिएको छ । एनएससी राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा सल्लाह दिने मुख्य समूह हो ।