देजमो राजनीतिक दलका रुपमा निर्वाचन आयोगमा दर्ता, यस्तो हुनेछ चुनाव चिन्ह

देजमो राजनीतिक दलका रुपमा निर्वाचन आयोगमा दर्ता, यस्तो हुनेछ चुनाव चिन्ह


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल राजनीतिक पार्टीका रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।

क्रान्तिकारी माओवादी पार्टीलाई चुनावी प्रयोजनका लागि दर्ता नगर्ने पार्टीको निर्णयपछि आवश्यक परेमा निर्वाचनलाई बहिस्कार या उपयोग दुवै प्रयोजनमा अब मोर्चा अघि बढ्नेगरी दर्ता गरिएको हो ।

प्रस्तावित चुनाव चिन्ह

दर्तावाल पार्टीले क्रान्ति नगर्ने भएकाले पार्टीको क्रान्तिकारी स्प्रिटलाई बचाईराख्न पनि मोर्चालाई चुनावी प्रयोजनका लागि पठाइएको जनाइएको छ । मोर्चाले आयोगमा हँसिया हथौडाको मुनी तारा रहेको चुनाव चिन्ह आयोगमा प्रस्ताव गरेको छ । 

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा अब मोर्चाले नै विभिन्न जिल्लामा पार्टीसँगको सहकार्यमा भाग लिनेछ । 

स्थानीय तह निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने क्रान्तिकारी माओवादीले निर्णय गरिसकेको छ ।

यद्यपि मोर्चा दर्ता भएपनि संसदमा रहेका राजनीतिक दल बाहेक अन्य दललाई दलगत आधारमा निर्वाचन चिन्ह नदिने बताएका कारण मोर्चासहित डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहितका ६५ दलहरु आन्दोलनमा रहेका छन् ।