उत्तर कोरियाको परमाणु विवाद अमेरिका एक्लैले हल गर्ने ट्रम्पको दाबी

उत्तर कोरियाको परमाणु विवाद अमेरिका एक्लैले हल गर्ने ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले साथ नदिए अमेरिका एक्लैले उत्तर कोरियाको परमाणु हतियारको खतरा ‘समाधान’ गर्ने चेतावनी दिएका छन् ।

बेलायतको समाचार संस्था फाइनान्सियल टाइम्ससँगको साक्षात्कारका उनले भने, ‘यदी चीनले उत्तर कोरियाली समस्याको समाधान नगरेमा हामी गर्छौै ।’

उनलाई के चीनको साथ बिना एक्लै पनि उत्तर कोरियाको परमाणु समस्याको हल गर्छ ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले आफूले गर्ने बताएका हुन् ।

ट्रम्पले उत्तर कोरियामा चीनको प्रभाव धेरै रहेको भन्दै उनले चीनले यो विषयमा सहयोग गर्ने या नगर्ने निर्णय गर्नुपर्ने बताए ।

उनले उत्तर कोरियामाथिको कारबाहीका लागि चीनले सहयोग गरेमा राम्रो हुने र त्यसो नभएमा कसैलाई पनि राम्रो नहुने उनको भनाई थियो ।

उत्तर कोरियामाथि अमेरिकाले एक्लै सैनिक कारबाही गर्न सक्ने आशंकाका विषयमा गरिएको प्रश्नको भने उनले जवाफ दिएनन् । उनले यसै साता चिनियाँ राष्ट्रपति शी जिनपिङसँग छलफल गर्न लागेका बेला आएको टिप्पणीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अमेरिकासम्म मार हान्न सक्ने लामो दुरीका परमाणु हतियार प्योंगयांगले विकसित गर्न सक्ने आशंकामा शक्तिराष्ट्रले दबाब सिर्जना गरिरहेका छन् । गत मार्च महिनामा दक्षिण कोरियाको भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियामाथि सैनिक कारबाही गर्न सक्ने चेतावनी दिएका थिए ।

दक्षिण कोरियाको भ्रमणलगत्तै चीन आएको अमेरिकी विदेशमन्त्री टिलरसनलाई चिनियाँ विदेशमन्त्री वाङ यीले ठन्डा दिमागले सोच्न चेतावनी दिएका थिए । उत्तर कोरियाको एकमा अन्तर्राष्ट्रिय सहयोगी चीनले हालै भएका मिसाइल परीक्षणलाई लिएर कडा आलोचना गरेको थियो ।

गत फेब्रुअरीमा उत्तर कोरियाको कोइला आयातमा चीनमा रोक लगाइएको थियो । कोइलाको व्यापार नै उत्तर कोरियाको आम्दानीको सबैभन्दा बलियो स्रोत हो । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर लामो समयदेखि राष्ट्रसंघले समेत प्रतिबन्ध लगाउँदै आएको छ ।

उत्तर कोरियाले सन् २०१६ भरी नै विभिन्न क्षेप्यास्त्र परीक्षण ग¥यो भने दुईं वटा परमाणु हतियारको समेत सफल परीक्षण गरेपछि उत्तर कोरियामाथिको प्रतिबन्धलाई थप कडा बनाइएको छ । प्योङयाङले भने आफ्नो परमाणु कार्यक्रम आत्म सुरक्षाका लागि भएको बताउँदै आएको छ ।