काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले एक प्रेस वक्तव्य जारी गर्दै प्रचण्ड नेतृत्वको सरकारले शान्तिपूर्ण रुपमा स्थानीय उपयोग गर्ने क्रममा पार्टी दर्ता, चुनाव चिन्ह तथा मतदाता नामावलीमा नाम दर्ताको विषयलाई लिएर काठमाडौं स्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा राखिएको धर्ना कार्यक्रममा संलग्न भएका नेता कार्यकर्तालाई गिरफ्तार गरेर सरकारले लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाउँदै फासिवादी आतंकको मञ्चन गरेको आरोप लगाएका छन् ।
आज जारी वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष क. सीपी गजुरेल, केन्द्रीय सदस्य क. सुरेश श्रेष्ठ, क. बसन्त बोगटी, कार्यकर्ताहरु किरण नगरकोटी, बालकुमार सुनुवारका साथै नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत ४८ भन्दा बढीलाई गिरफ्तार गरी लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाउँदै वर्तमान सरकार फासिवादी आतंकको मञ्चन गर्दैछ ।”
वक्तव्यमा यस प्रकारको दमन, धरपकड र मानसिक यातना दिने कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गरी उहाँहरुले उठाएका मागहरु पूरा गर्न हामी जोडदार आव्हान गरिएको छ । अन्यथा यस प्रकारका घटनाहरु जारी रहेमा सशक्त प्रकारको आन्दोलन घोषणा गर्ने चेतावानी दिंदै त्यसबाट पैदा हुने परिणामको जिम्मेवार स्वयम् सत्ता पक्ष हुने पनि वक्तव्यमा जानाइएको छ ।






























