यतिखेर नेपाल मण्डलमा चारदलीय पञ्चायती व्यवस्था चलिरहेको छ । यसलाई २१औँ शताब्दीको भाषामा लोकतान्त्रिक गणतन्त्र पनि भन्ने चलन छ । २०१७ पुस १ देखि २०४६ चैत २६ सम्म निर्दलीय पञ्चायती व्यवस्था थियो । त्यसपछि बहुदलीय पञ्चायत लागू भयो । अहिले चारदलीय पञ्चायती व्यवस्थाको हालहुकुम चलिरहेको छ । चारतारे दल, सूर्यछाप दल, गोलघेरे दल र गाईछाप दल गरी चार दलले अहिलेको पञ्चायती निरङ्कुशतन्त्र चलाइरहेका छन् । यी चार दलका चार बास्सामा डेउडापती, उखानप्रसाद, मिस्टर सुप्रिमो र हेटौँडे थापाकाजीले बास्साको श्रीपेच पहिरिएका छन् । यी चार बास्साहरूको राजसभा स्थाई समितिका सभापति हुन् महामहिम गुज्जर भैय्या । बडागुरुज्यूमा नियुक्त भएका छन् लैनचौरे पञ्जावी सरदार । यिनै गुज्जर भैय्या र बडागुरुज्यूको आदेश निर्देशनमा चार बास्साहरूको हालहुकुम चलिरहेको छ ।
यी चार बास्साले नेपाल मण्डलमा स्थानीय तह नाम दिइएको चुनावी नौटङ्की मञ्चन गर्ने साइत जुराएका छन् । आगामी बैशाख ३१ गते जुराइएको अनिश्चितकालीन चुनावी नौटङ्कीको सरगर्मी नेपाल मण्डलमा निकै जोडतोडका साथ चलेको छ । यतिखेर भाडाका रैती खरिद गरेर तामझामका साथ चुनावी नौटङ्कीको प्रचार प्रसार र तयारीका सभाहरू मञ्चन गर्दै देश दौडाहामा विशेष गरी सूर्यछाप दल र गोलघेरे दल कुदारेकुदमा छन् । एनसेल नाम गरेको दूरभाष कम्पनीले नेपाल मण्डलका घरघरमा आर्थिक कङ्गाल बनाउने योजनाका साथ रैतीहरूलाई विभिन्न प्रलोभनमा भुलाएर बेबकुफ बनाउँदै आएको छ । त्यो कम्पनीको सरकारी कर छुट गराइदिए वापतको कोशेलीको कुम्लो कुम्ल्याएका मिस्टर सुप्रिमोको गोलघेरे दल यतिवेला त्यही कुम्लोको कोशेलीले रैती खेरबटुल पारेर बसमा ओसार्दै जनसभा नामको सिनेमाको च्यारिटी शो प्रदर्शन गर्दै देश दौडाहामा छ । गोलघेरे दलको चुनावी घोषणापत्र पनि बडा गजबको छ । घरघरमा वाईफाई सेवा पु¥याउने रे । किनकि अहिलेको युग विज्ञान र प्रविधिको युग भएकाले हरेक नेपाली रैतीका घरघरमा वाईफाई पु¥याएपछि देशविकास द्रुत गतिमा हुने भयो । जन्मेजतिका नेपाली रैतीका हातहातमा मोवाइल पु¥याएपछि सबैले फेसबुक चलाउन पाउने भए । इन्टरनेट चलाउन पाउने भए । इन्टरनेटले संसारलाई प्रत्येकको हातहातमा ल्याइदिने भयो । दुनियाँ कहाँबाट कहाँ पुग्यो भनेर घरमै बसिबसि हेर्न पाउने भए । अरूले अन्तरीक्षमा विचरण गरेको कुरा पनि घरै बसेर हेर्न, सुन्न र पढ्न पाइने भयो । विदेशिएका युवायुवतीले फेसबुक मार्फत् रोजीरोजी ठिटाठिटी छानेर लभ गर्न पाइने भयो । देशबाट विदेश र विदेशबाट देशभित्र लभ गर्न पाइने भयो । लभ उत्कर्षमा पुगेपछि सब गर्न पाइने भयो । यस्तो काइदाको विकास गर्ने योजना लिएर घरघरमा पुगेपछि गोलघेरे दलले चुनाउ जित्ने कुरा पक्कापक्की छ । कथम् कदाचित भोट गन्नेबेला हार्ने जस्तो स्थिति देखिन थाल्यो भने मतगणणा कार्यको बहिष्कार गर्ने । त्यसो भएपछि प्रभु माहाराजहरू थुरथुर काँपिहाल्छन् र उनको दललाई जिताइदिन्छ । यस्तो छ गोलघेरे दलका बास्सा मिस्टर सुप्रिमोको काइदा ।
घरघरमा वाईफाई सेवा पु¥याउने ठेक्कापट्टा पनि त्यही एनसेल नामको दूरभाष कम्पनी हुने रे । सरकारी कम्पनीबाट भनेजति कमिशनको कुम्लो हात नलाग्ने भएपछि चार बास्साकै मिलेमतोमा एनसेल कम्पनीलाई नै त्यो ठेक्का दिने सरकारी निर्णय भएको छ । यसबाट सबै बास्साहरूले दलको गच्छे अनुसार र सरकारी पदअनुसारको कोशेलीको कुटुरो पाउने भएका छन् । सरकारी बास्साहरूलाई मात्र कोशेलीको कुटुरो दिएपछि नाराज भएका अर्का बहिष्कारे दलका रोल्पाली बास्सालाई पनि केही कमिशनको कुटुरो दिने सहमति एनसेलले गरेको कुरो झर्रोटर्रो कार्यालयमा आएको छ । रोल्पाली बास्सा र गोलघेरे दलका बास्साको बहिष्कारको कार्यनीति भने एउटा विषयमा समान रहेको छ । गोलघेरे दलका बास्साले चुनाउका मत गन्नेबेला आफ्नो दललाई हराउन थालेपछि मतगणणा कार्य बहिष्कार गर्ने, रोल्पाली बास्साले चुनाउ नै बहिष्कार गरेर आफ्नो छुट्टै सरकार बनाएर सत्ता साझेदारीमा बार्ता गर्ने रे । चुनाउ जितेर मिष्टर सुप्रिमोले सरकार बनाउने, चुनाउ बहिष्कार गरेर रोल्पाली बास्साले सरकार बनाउने । त्यसपछि बार्ता गरेर एउटै सरकार बनाएर समाजवादमा जाने । कस्तो गजवको कार्यदिशा । यस्तो छ उत्तर साम्राज्यवादका विरोधमा आएको उत्तर माक्र्सवादी कार्यदिशा ।
चारदलीय ठेकेदार बास्साहरूले यतिखेर सरकारी दल बाहेकका अरू दललाई मान्यता नदिने गरि कानून पास गरेका छन् । चुनाउमा अरू दलले एउटै चिन्ह लिएर उनाउ लड्न पनि नपाउने र दलको नामबाट पनि चुनाउ लड्न नपाउने भएका छन् । सत्र छयालिसको निर्दलीय पञ्चायतमा दल खोल्न नै प्रतिवन्ध लगाइएकोले पञ्चायत बाहेकका अरू दलले स्वतन्त्र भएर चुनाउ लड्थे । अहिले पनि चारदलीय पञ्चायती व्यवस्था कायम भएकाले सरकारी बाहेकका अरू दललाई प्रतिवन्ध लगाइएको हो । आखिरमा यो व्यवस्था पनि नयाँ पञ्चायत न प¥यो । पञ्चायती व्यवस्थाको पहिचान भनेको निरङ्कुशता हो क्यारे । निरङ्कुशतन्त्र त छोड्नै भएन । चारदल त ठेकेदार बास्सा भइहाले । त्यस बाहेकका अरू सरकारी तेइस दलले पनि आगामी चुनाउमा तलबाट एउटा सीट पनि जित्न सकेनन् भने अहिलेको जस्तो समानुपातिकबाट मात्र पाएको माननीय पदले दलको मान्यता नपाउने भएका छन् । यसरी क्रमशः अरू सानातिना भुरेटाकुरे दलहरूलाई नियोजन गर्दै लगेर केही बर्स चार सन्तान पञ्चतन्त्रका बरदान बनाउने । त्यसपछि क्रमशः अरू दुईटालाई पनि विचारअनुसार कसैलाई एकै ठाउँ मिसाएर कसैलाई नियोजनद्वारा नपुङ्सक बनाएर अन्त्यमा दुई दलीय पञ्चायत कायम गर्ने गरि कानून बनाइएको छ । यसरी दुई दल मात्र कायम गरेपछि सातसमुन्द्र पारीका आफ्ना लोकतन्त्रे कुइरे खैरे प्रभुहरूको जस्तै व्यवस्था निर्माण हुनेछ । त्यसरी संसारैभरि दुईदलीय पञ्चायती व्यवस्था लागू हुने जनाइएको छ । चारदलीय पञ्चायती व्यवस्थाको जय होस् । श्री भोलेनाथले चारदलीय बास्साहरूको कल्याण गरुन् ।
१९ चैत २०७३