एजेन्सी । बेलायतले युरोपियन युनियन (ईयू) बाट बाहिरिने प्रक्रिया औपचारिक रुपमा सुरु गरेको छ ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट पत्रमा बुधबार हस्ताक्षर गरेपछि बेलायतको बर्हिगमन औपचारिक रुपमा सुरु भएको छ ।

बेलायतले ईयूबाट बाहिरिने विषयमा लिस्वन सन्धीको धारा ५० अनुसार आफ्नो तर्फबाट ईयू छाड्नेबारे आधिकारिक रुपमा सूचना दिएको छ । यो सूचना ईयू परिषदका अध्यक्ष डोनाल्ड टस्कलाई हस्तान्तरण गरिएको छ ।

गत जुन २३ मा भएको जनमत संग्रहमा जनताले युरोपेली संघबाट अलग हुने पक्षमा मतदान गरेका थिए । ब्रेक्जिटको पक्षमा ५१.९ र विपक्षमा ४८.१ प्रतिशत मत खसेपछि बेलायत ईयूबाट बाहिरिन लागेको हो ।

प्रधानमन्त्री थेरेसा मेले यो पत्रमा हस्ताक्षर गरेपछि बेलायती राजदूत सर टिम ब्यारोमार्फत ईयूमा पठाइएको हो । त्यसअघि उनले एक घन्टा लामो मन्त्रिपरिषद बैठक गरेकी थिइन् ।

जनमत संग्रहमा ईयूबाट बाहिरिनुपर्ने जनादेश आएपछि तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएपछि उनकै मन्त्रिपरिषदकी गृहमन्त्री मे ब्रेक्जिटलाई कार्यान्वयन गर्ने जिम्मेवारीसहित नयाँ प्रधानमन्त्री बनेकी थिइन् ।

बेलायत युरोपेली संघबाट बाहिरिएको अवस्थामा २७ राष्ट्र बाँकी रहनेछन् । ईयूको स्थापना दोस्रो विश्वयुद्धपछि सन् १९५७ मा आर्थिक सहयोग बढाउनका लागि गरिएको थियो ।

ईयूको आफ्नै मुद्रा युरो भएपनि बेलायतले अहिलेसम्म आफ्नै मुद्रा पाउन्डको प्रयोग गर्दै आएको छ । ईयूआबद्ध १९ देशले भने युरो मुद्रा चलाउने गर्दछन् ।

बेलायतले ईयू छाड्ने औपचारिक प्रक्रिया सुरु गरेपनि यसलाई पूरा गर्नका लागि कम्तीमा पनि दुई वर्ष लाग्नेछ । आज ब्रेक्जिटसँग जोडिएको ग्रेट रिपिल बिल प्रकाशित हुने छ भने शुक्रबार ईयू परिषदका अध्यक्ष डोनाल्ड टस्कले ब्रेक्जिट छलफलका दिशानिर्देश प्रकाशित गर्नेछन् भने २९ अप्रिलमा इयू सम्मेलनमा बाँकी सदस्य देशले दिशानिर्देश स्वीकार गर्नेछन् ।

बेलायत ईयूबाट बाहिरिनका लागि लिस्बन सन्धीको धारा ५० लागु भएपछि दुवै पक्षबीच दुईवर्षभित्र अलग हुने सर्तमाथि सहमति बन्नुपर्नेछ । यसका लागि कम्तीमा पनि २ वर्षको अवधी गुजार्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर