चुनावसम्बन्धी निर्णय लिन वैद्य माओवादीले बोलायो केन्द्रीय समितिको विस्तारित बैठक

चुनावसम्बन्धी निर्णय लिन वैद्य माओवादीले बोलायो केन्द्रीय समितिको विस्तारित बैठक

काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय निकायको चुनावसम्बन्धी निर्णय लिनका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बुधबार पार्टी कार्यालय बुद्धनगरमा बसेको कार्यालयको बैठकले यस्तो निर्णय गरिएको पार्टी कार्यालय सचिव कृष्णभक्त महर्जन‘कगेन्द्र’ले मूलबाटोलाई जानकारी दिए ।

सचिव कगेन्द्रका अनुसार चैत्र १४ र १५ गतेका लागि विस्तारित बैठकको आव्हान गरिएको छ । बैठकमा केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकार, पार्टीका जिल्ला सचिव÷संयोजक, जबस मोर्चाका केन्द्रीय अध्यक्ष÷संयोजकहरु सहभागी हुनेछन् । कार्यालय बैठकले विस्तारित बैठकका लागि राजनीतिक प्रतिवेदन तयार पार्ने जिम्मा केन्द्रीय अध्यक्ष किरणलाई दिएको छ ।

यसैबीच, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय समितिको बैठक चैत्र १६ गतेका लागि आव्हान गरिएको छ । मोर्चाका कार्यालय सचिव हरिकृष्ण गजुरेलले दिएको जानकारी अनुसार स्थानीय निकायको चुनाव सम्बन्धी आवश्यक निर्णय लिनका लागि मोर्चाको केन्द्रीय समितिको बैठक आव्हान गरिएको हो ।