भारतमा लुटिएर फर्किएका शेर्पा कटारीकाे होटलमा मृत भेटिए

भारतमा लुटिएर फर्किएका शेर्पा कटारीकाे होटलमा मृत भेटिए

गाइघाट । उदयपुरको कटारी नगरपालिकास्थित कटारी बजारको सोलु होटल एन्ड लजमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।

होटलमा मृत भेटिएका युवक सोलुखुम्बु जिल्लाको टाक्सिन्दु–६ का २३ वर्षीय दावा शेर्पा रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

शेर्पा सोमबार साँझ नै भारत हुँदै काकडभिट्टाबाट मात्रीभाग्यरेखा यात्रुवाहक बसमा आएरर सो होटलमा बसेका थिए । तर मंगलबार बिहानसम्म युवक नउठेको र सोही कोठाको अर्को बेडमा सुत्ने अर्का व्यक्तिले युवक नउठेकोबारे जानकारी गराएपछि प्रहरीलाई होटल सञ्चालकले खबर गरेका थिए ।

प्रहरीको अनुसन्धानपछि मृतक युवाको शवलाई नै कटारी अस्पतालमा राखिएको र मृतकका आफन्तलाई सोलुखुम्बुमा सम्पर्क गरेर शव बुझ्न आउन भनिएकाले युवकका आफन्त आइपुगेपछि शवपरीक्षण गरेर आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक युवा तीन महिनाअघि नै घर छाडेर भारतको मेघालयतिर गएको र फर्कनेक्रममा भारतमा नै लुटिएको कटारीमा आइपुगेपछि बेलुकी बास बस्नुअघि होटल सञ्चालकलाई भनेका थिए ।

युवाले कटारीस्थित होटलमा आइपुगेपछि बेलुकी खाना पनि नखाई सुतेको र आफू बिरामीसमेत भएको बताएको होटल सञ्चालकले जनाएका छन् ।

प्रहरीले मृतक युवाको साथमा झोला पनि नभएको र गोजीमा आठसय मात्र रहेको पाइएको जनाएको छ ।