
एजेन्सी । बेलायतले यही मार्च २९ देखि युरोपेली संघ (ईयू) बाट बाहिरिने प्रक्रिया सुरु गर्ने भएको छ ।
बेलायती प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले आगामी बुधबारबाट यस सम्बन्धि सन्धीको धारा ५० का अनुसार ईयू छाड्ने प्रक्रिया सुरु हुने जनाएका छन् ।
बेलायती प्रधानमन्त्रीको कार्यालयले अब युरोपेली संघमा बाँकी रहने २७ देशलाई चिठी लेख्ने जनाएको छ । यसपछि बेलायतसँग दुई वर्षको छलफलको समय हुनेछ, जुन अवधीमा उसले ईयूबाट बाहिर निस्कने शर्तमाथि सदस्य राष्ट्रहरुसँग छलफल गर्नेछ ।
बेलायतले जनमत संग्रहबाट ईयूबाट बाहिरिने पक्षमा अभिमत आएको ९ महिनापछि ब्रेक्जिटको कार्यान्वयनको प्रक्रिया सुरु गर्न लागेको हो । जनमत संग्रहमा बेलायतले ईयू छाड्नुपर्ने पक्षमा ५१.९ प्रतिशत भोट परेको थियो भने त्यसको विपक्षमा ४८.१ प्रतिशत मत परेको थियो ।
ईयूबाट बाहिरिने बारेमा लिस्वन सन्धीको धारा ५० का अनुसार बेलायतले आधिकारिक रुपमा युरोपेली संघबाट अलग हुनेबारेमा कुरा नराखेसम्म शर्त र भविष्यको सम्बन्धबारे छलफल हुन सक्दैन ।
आगामी साताबाट सुरु हुने ब्रेक्जिटको प्रक्रिया ठीक ढंगले सञ्चालन भएमा आगामी सन् २०१९ को मार्चसम्ममा बेलायत औपचारिक रुपमा ईयूबाट बाहिरिन सक्नेछ ।
बहिर्गमन प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ मा सुरु गरी कम्तिमा दुई वर्षभित्र बहिर्गमनका महत्वपूर्ण मुद्दाहरुलाई छलफलद्वारा टुंग्याइने लक्ष्य तय गरेको ईयूका लागि बेलायतका राजदूत टिम ब्यारोले युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कसँगको भेटमा बताएका हुन् ।
बेलायतकी प्रधानमन्त्री थेरेसा मेले लिस्बन सम्झौताको धारा नं. ५० लाई कार्यान्वयनका लागि लैजान एक पत्रमार्फत् जानकारी गराउने राजदूत ब्यारोले जानकारी दिए ।
बेलायती प्रधानमन्त्रीको कार्यालयले आधिकारीक सूचनापछि बाँकी २७ सदस्य राष्ट्रले आफ्ना सर्तमाथि सहमति दिने र ४८ घन्टामा प्रतिक्रिया दिने आशा व्यक्त गरेको छ ।
प्रधानमन्त्री थेरेसा मेले गत वर्ष नै मार्च महिनाबाट ब्रेक्जिटको अधिसूचना जारी गर्ने बताएकी थिइन् । ईयूका प्रवक्ताले आफूहरु तयारी र पत्रको प्रतिक्षामा रहेको बताएका छन् । बेलायतका ब्रेक्जिट मन्त्री डेभिड डेभिसले बेलायतको यो पुस्ताका लागि ब्रेक्जिट महत्वपूर्ण रहेको बताएका छन् ।
गत वर्षको २३ जुनमा भएको जनमत संग्रहमा अप्रत्यासित रुपमा बेलायत ईयूबाट बाहिरिने पक्षमा जनमत गएको थियो । जनमत संग्रहको परिणाम विपक्षमा गएपछि तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा दिएका थिए ।
क्यामरुनको राजीनामापछि ब्रेक्जिटलाई कार्यान्वयन गर्ने मुख्य चुनौतिसहित क्यामरुन मन्त्रिपरिषदकै गृहमन्त्री थेरेसा मे बेलायती प्रधानमन्त्री बनेकी हुन् । ईयूबाट बेलाययत बाहिरिएपछि २७ सदस्य मात्रै बाँकी रहनेछन् ।