एजेन्सी । युरोपेली मुलुक नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ ।

संसारकै खुसी राष्ट्रको सूचीको शीर्ष १० मा नर्वेपछि डेनमार्क, आईसल्याण्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड, नेदरल्यान्ड, क्यानडा, न्युजिल्यान्ड, अस्ट्रेलिया र स्विडेन रहेका छन् ।

यसैगरी संसारकै सबैभन्दा दुःखी राष्ट्रको शीर्ष १० स्थानमा मध्य अफ्रिकी गणतन्त्र, बुरुन्डी, तान्जानिया, सिरिया, रुवान्डा, टोगो, गिनी, लाइबेरिया, दक्षिण सुडान र यमन छन् ।

तालिकामा उत्तर अमेरिकी राष्ट्र अमेरिका र युरोपकै शक्तिशाली देश बेलायत क्रमशः १४ औं र १९ औं स्थानमा रहेका छन् । हिंसाग्रस्त अफ्रिकी र मध्यपूर्वका देशहरु यो सूचीमा निकै पछि परेका छन् ।

सिरिया तालिकामा सामेल रहेका १५५ देशमध्ये १५२ औं स्थानमा छ भने हिंसाका साथै तिव्र भोकमरीको सामना गरिरहेका यमन र दक्षिण सुडान क्रमशः १४६ र १४७ औं स्थानमा छन् ।

‘सुखका लागि अनुसन्धान’ नामक यस अनुसन्धान परियोजनामा औसत वैयक्तिक आय, स्वस्थ रही बाँचिने प्रतिब्यक्ति औसत आयु (लाइफ एक्सपेक्टेन्सी), एक आपसमा सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रताको उपभोग, देशमा व्याप्त आर्थिक वा अन्य प्रकृतिका भ्रष्टाचार, वैयक्तिक दया तथा क्षमाशीलता जस्ता मूल्य र मान्यतालाई निरुपण गरी त्यसमा आधारित मापदण्ड निर्धारण गरिएको थियो ।
यी सबै मूलतत्वहरुलाई समग्रमा मूल्यांकन गर्न एक देखि दश अंकसम्म प्रदान गरी सुखी तथा दुःखी राष्ट्रको पहिचान वा आंकलन गरिएको थियो ।

विगत पाँच वर्षयता विश्व खुसी दिवस मार्च २० को अवसर पारेर राष्ट्रसंघले खुसी मुलुकहरुको सूची सार्वजनिक गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर