भाउजुले गरिन देवरको हत्या, दोहोरो अवैध सम्बन्ध रहेको खुलासा

भाउजुले गरिन देवरको हत्या, दोहोरो अवैध सम्बन्ध रहेको खुलासा

बागलुङ । बागलुङ नगरपालिका १३ पैंयुपाटाकी रिता नेपालीले आफ्नो अवैध यौनसम्बन्ध लुकाउनका लागि आफ्नै देवरको हत्या गरेको खुलेको छ ।

नेपालीले देवर २५ वर्षीय विनोद हरिजनको सहयोगीमार्फत हत्या गराएकी हुन् । यसअघि हरिजनले आत्महत्या गरेको भन्दै ढाकछोप गर्न खोजेकी थिइन् । घटनाका दोषी २६ वर्षीया रिता र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार राति रिता र टेकबहादुर मिलेर विनोदको घाँटी थिचेर हत्या गरी झुण्ड्याएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

देवर भाउजुबीच रहँदै आएको अवैध यौन सम्बन्धका कारण भएको झगडाले हत्याको रुप लिएको हो । झगडा बढ्दै गएपछि रिताले टेकबहादुरलाई घरमै बोलाइ दुवैजना मिलेर विनोदको हत्या गरेको पाइएको प्रहरीको भनाई छ ।

हत्यापछि ‘आत्महत्या’ भनि देखाउन विनोदको शव रिताकै कोठामा पटुकीको सहायताले झुन्डाइएको थियो । शव र घटनास्थलको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

रिताले देवरसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीसामु स्वीकार गरेकी छिन् । हत्यामा संलग्न टेकबहादुर र रिताबीच समेत अनुचित सम्बन्ध रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

रिताका श्रीमान् विगत चार वर्षदेखि रोजगारीका क्रममा मलेसियामा छन् भने टेकबहादुरकी श्रीमती पनि मलेसियामा नै छिन् ।