एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही मुस्लिम देशमाका नागरिकमाथि अमेरिकामा प्रतिबन्ध लगाउने दोस्रो कार्यकारी आदेशमाथि पनि हवाईका एक संघीय न्यायधीसले रोक लगाइ दिएका छन् ।
ट्रम्पको दोस्रो कार्यकारी आदेश बिहीबार मध्यरातदेखि लागु हुनुपूर्व सो आदेशमाथि रोक लगाइएको हो ।
मुस्लिम बहुल राष्ट्रका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको आदेशलाई अमेरिकाका विभिन्न राज्यले पुनः रोक्न कोशिस गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पले मुस्लिम बहुल इरान, सिरिया, यमन, लिबिया, सोमालिया र सुडानका नागरिकलाई अमेरिकामा ९० दिनसम्म प्रवेश नदिने गरि कार्यकारी आदेश जारी गरेका थिए ।
राष्ट्रपति ट्रम्पले शरणार्थीमाथि १२० दिनको प्रतिबन्ध लगाउन समेत चाहेको छ । त्यसविरुद्ध अमेरिकासहित विश्वभर विरोध भएपछि अर्को केही लचिलो कार्यकारी आदेश जारी गरेका हुन् । यद्यपि हवाईका संघीय न्यायधीसको फैसलाले उनको प्रयासमा पुनः अर्को झट्का लागेको छ ।
राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा अमेरिकी ग्रीनकार्ड भएका र भिसा लागिसकेका नागरिकका लागि भने रोक लाग्ने छैन । पहिलो आदेशमा इराकमाथि पनि प्रतिबन्ध लगाइएको थियो । दोस्रो आदेशमा भने इराकमाथिको प्रतिबन्ध हटाइएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्प शरणार्थी र मुस्लिम बहुल ६ राष्टका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आफ्नो निर्णयलाई अदालतले रोक लगाएपछि आक्रोशित बनेका छन् । ट्रम्पले अदालतलाई यस विषयमा आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइरहेको आरोप लगाएका छन् ।
हवाईको अदालतको फैसलापछि नेशभिलमा ¥यालीका क्रममा ट्रम्पले भने, ‘संविधानमा कानुनले राष्ट्रपतिलाई यो अधिकार दिएको छ कि देशको राष्ट्रिय हितमा आप्रवासनलाई निलम्बित गर्न सक्छ ।’