मणिपुरमा १६ वर्ष अनशन बसेकी इरोम शर्मिलाको जम्मै ९० भोट !

मणिपुरमा १६ वर्ष अनशन बसेकी इरोम शर्मिलाको जम्मै ९० भोट !

विश्वकै सबैभन्दा लामो भोकहड्ताल गरेर चर्चामा आएकी भारतकी शर्मिला इरोम मणिपुर निर्वाचनमा नराम्ररी पराजित भएकी छन् । इरोम शर्मिलाको जितको परिकल्पना गर्नु त्यति सहज पनि थिएन ।

तर निरन्तर संघर्ष गर्नु उनको जीवनको महत्वपूर्ण पाटो हो । तर, संघर्षले मात्रै जीत हासिल हुन सक्दैन र त्यसका लागि रणनीति पनि चाहिन्छ भन्ने कुरा दोस्रो पटक पनि उनको जीवनमा लागु भएको छ ।

यी ४४ वर्षीय मानवअधिकारवादी कार्यकर्ताले गत वर्ष कुनै उपलब्धी बिना नै आफ्नो १६ वर्ष लामो भोक हड्ताल अन्त्य गरेकी थिइन् । उनको निर्वाचन अभियानमा सुरक्षाकर्मीबाहेक अरुको सहभागिता न्युन थियो भने भाषण सुन्नेहरु हुँदैनथिए ।

जो आउथे केवल उनलाई हेर्नका लागि मात्रै आएका हुन्थे । राज्यमा सेनालाई प्राप्त विशेषाधिकार अन्त्य हुनुपर्ने र निर्दोष जनताको हत्या गर्न नपाईने मागसहित अनसनमा १६ वर्ष लामो समय बिताएकी उनलाई नाकबाट झोल पदार्थ दिइन्थ्यो भने अरु मानिससँग पनि आधा घन्टा मात्रै भेट्ने समय हुन्थ्यो ।

चुनावका क्रममा उनका ब्वाईफ्रेण्ड आयरल्याण्डमा बस्ने र मणिपुरी नभएको भन्दै विदेशीको मुद्धा जसरी सोनिया गान्धीका हकमा उठाइयो, इरोम र उनका ब्वाईफ्रेण्ड भनिएका डेसमण्डका बारेमा पनि यसरी नै चर्चा बाहिर आएको थियो । डेसमण्ड भारतीय जासुस भएको, इरोम शर्मिलालाई अनशन तोड्न उनले नै प्रेरित गरेका कुरा पनि बाहिर आए ।

इरोमले मणिपुरका शक्तिशाली नेता इबाबी सिंहलाई चुनौती दिइन्, जसरी आम आद्मी पार्टीका संयोजक अरबिन्द केजरीवालले लोकसभा निर्वाचनका क्रममा नरेन्द्र मोदीलाई चुनौती दिएका थिए ।

यद्यपि केजरीवालका समर्थक सामाजिक सञ्जालसम्म सक्रिय थिए र निर्वाचनको परिणामसम्म पनि उनी चर्चामा नै रहे, तर इरोम शर्मिलाको हकमा त्यस्तो देखिएन । इरोम शर्मिलाका बारेमा अन्यत्रका मिडियामा चर्चा भएपनि मणिपुरकै मिडियामा भने भएन ।

इरोम शर्मिला मुख्यमन्त्री बन्न चाहन्थिन तर मुख्यमन्त्रीको दावेदारी गर्ने पार्टी पिपुल्स रिसर्जेन्स एण्ड जस्टिस एलायन्सले चुनावी मैदानमा ३ जना मात्रै उम्मेदवार उठाएको थियो ।

मतदाताले इरोम शर्मिलालाई गम्भीर रुपमा लिएनन्, किनकी के उनी गम्भीर थिइन् भन्ने प्रश्न उब्जियो । परिणाम स्वरुप उनलाई निर्वाचनमा मात्रै ९० भोट प्राप्त भयो । उनका बाँकी दुई उम्मेदवारको जमानत जफत भयो ।