युपी र उत्तराखण्डमा भाजपालाई दुई तिहाई बहुमत, पञ्जाबमा काँग्रेसको जित

युपी र उत्तराखण्डमा भाजपालाई दुई तिहाई बहुमत, पञ्जाबमा काँग्रेसको जित

एजेन्सी । भारतको सबैभन्दा ठूलो र महत्वपूर्ण राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेको छ ।

मुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीलाई हराउँदै उत्तर प्रदेशमा १४ वर्षपछि भाजपाले बहुमत ल्याएको हो ।

भारतका विभिन्न ५ राज्यमा विभिन्न चरणमा निर्वाचन सम्पन्न भएको थियो । गत फेब्रुअरी ११ मा सुरु भएको विधानसभा निर्वाचनको मतपरिणामअनुसार भाजपाले उत्तर प्रदेश र उत्तराखण्डमा दुई तिहाई बहुमत हासिल गरेको छ भने गोवा र मणिपुरमा दोस्रो ठूलो पार्टी बनेको छ ।

मणिपुर र गोवामा भाजपा र काँग्रेसबीच कडा टक्कर देखिएपनि केही सिटको अन्तरमा काँग्रेस ठूलो पार्टी भएको हो ।
उत्तर प्रदेशको ४ सय ३ सिटमा भाजपा र अपना दलको गठबन्धनले ३२५ स्थानमा जित हासिल गरेको छ । भाजपासँग मिलेर चुनाव जितेको अपना दलले ९ सिटमा जित निकालेको हो । भाजपाको उत्तर प्रदेशमा १४ वर्षपछि बहुमत आएको हो ।

समाजवादी पार्टी र काँग्रेसको गठबन्धनले ५२ सिटका साथ दोस्रो स्थानमा रह्यो भने बहुजन समाजवादी पार्टी १९ सिटमा विजयी भएको छ । सन् २०१२ का विधानसभा निर्वाचनमा समाजवादी पार्टीले २२४ सिटमा जित निकालेको थियो भने बहुजन समाजवादी पार्टीले ८० सिटमा जित निकालेको थियो ।

यसैगरी भारतीय जनता पार्टीले ४७ सिटमा जित हात पार्दै तेस्रो बनेको थियो भने काँग्रेसले २८ सिट हात पारेको थियो । अहिले भने समाजवादी पार्टीले नमिठो हारको सामना गर्नुपरेको छ ।

समाजवादी पार्टीका चर्चित र अघिल्लो विधानसभा निर्वाचनमा फराकिलो जित निकालेका तथा मुलायम सिंय यादवकै परिवारका सदस्यले समेत यो निर्वाचनमा पराजय बेहोरेका छन् ।

उता उत्तराखण्डमा पनि भारतीय जनता पार्टीले बहुमत हासिल गरेको छ । उत्तराखण्डको ७० सिटमध्ये भारतीय जनता पार्टीले ५७ सिटमा जित निकालेको छ भने काँग्रेस पार्टी ११ सिट मात्रै हासिल गरेको छ ।

उत्तराखण्डमा काँग्रेसका मुख्यमन्त्री हरिस रावतले २ स्थानबाट चुनाव लडेपनि दुवै स्थानमा पराजित भएका छन् । सन् २०१२ को निर्वाचनमा भाजपाले ३१ र काँग्रेसले ३२ सिट ल्याएका थिए ।

उता पञ्जाबमा भने काँग्रेस आफ्नो बर्चस्व कायम राख्न सफल भएको छ । सुरुवाती परिणाममादेखि नै अगाडि देखिएको काँग्रेसले पञ्जाबका ११७ सिटमध्ये ७७ स्थानमा जित हासिल गरेको छ ।

पहिलो पटक निर्वाचनमा सहभागी भएको आम आद्मी पार्टीले पञ्जाबमा २२ सिटसहित दोस्रो स्थान हासिल गरेको छ भने अकाली–भाजपाको गठबन्धले १८ सिटमा जित हासिल गरेको छ ।

पञ्जाबमा भारतीय जनता पार्टीले ३ स्थानमा मात्रै जित निकालेको हो भने शिरोमणि अकाली दलले १५ सिट जितेको छ । अघिल्लो विधानसभाको निर्वाचनमा काँग्रेसले ४६ सिट, भाजपाले १२ सिट, शिरोमणि अकाली गठबन्धनले ५६ सिट र अन्यले ३ सिटमा जित हासिल गरेका थिए ।

यस्तै गोवामा भाजपा र काँग्रेसबीच कडा टक्करका बाबजुद काँग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ भने भाजपा दोस्रो बनेको छ । काँग्रेसले गोवामा १६ सिटमा जित हासिल गर्दा भाजपाले १३ सिटमा जित निकालेको छ भने अन्यले १० स्थानमा जित हासिल गरेका छन् । गोवामा भने भाजपाको प्रभाव कमजोर भएको देखिएको छ ।

अघिल्लो विधानसभाको निर्वाचनमा गोवाका ४० सिटमध्ये भाजपाले २१, जीवीपीले २, काँग्रेसले ९, महाराष्ट्रवादी गोमान्तक पार्टीले ३ र अन्यले ५ सिटमा जित हासिल गरेका थिए ।

यस्तै मणिपुरमा पनि काँग्रेस भाजपाको कडा टक्कर परेको छ । मणिपुरमा काँग्रेसले २८ सिट र भाजपाले २१ सिटमा जित निकालेका छन् । मणिपुरमा टिएमसीले १ र अन्यले १० स्थानमा जित निकालेका छन् ।

मणिपुरमा विश्वकै सबैभन्दा लामो भोकहड्ताल गरेर चर्चामा आएकी इरोम शर्मिलाको पार्टी पनि चुनावी मैदानमा थियो । सन् २०१२ को विधानसभाको निर्वाचनमा ६० सिटमध्ये काँग्रेसले ४२ सटमा जित हासिल गरेको थियो ।

मणिपुरमा एनसीपीले १ सिट, एआईटीसीले ७, एलजेपीले १ र एमएससीपीले ५ सिटमा जित निकालेका थिए ने नंगा पिपुल्स फ्रन्टले ४ सिट जितेको थियो ।