काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सेनाको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरेको जनाएका छन् ।
व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले गौतमलाई सहिद घोषणा गर्नुका साथै १० लाख राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र सन्ततिको निःशुल्क पठन–पाठन गराइदिने निर्णय भएको पनि जानकारी दिएका हुन् ।
कञ्चनपुर जिल्लाको दक्षिणी सीमा नजिक आनन्दबजारमा कल्भर्ट निर्माणका विषयमा नेपाल र भारतका सीमा अधिकारीबीच फागुन १० गतेको सहमतिविपरित भारतीय पक्षले कल्भर्ट भत्काएपछि उत्पन्न विवादमा भारतीय सेनाले गोली हानी निर्दाेष नेपाली गोविन्द गौतमको हत्या गरेको थियो ।