जाजरकोटमा भएको बस दुर्घटनामा २० जनाको मृत्यु, दर्जनौं घाइते

जाजरकोटमा भएको बस दुर्घटनामा २० जनाको मृत्यु, दर्जनौं घाइते

जाजरकोट । जाजरकोटमा बिहीबार भएको यात्रुबस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ भने अन्य दर्जनौं घाइते भएका छन् । बसमा करिब ५० जना यात्रु सवार थिए ।

दुर्घटनामा घाइते भएकामध्ये केही अवस्था चिन्ताजनक रहेका कारण मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीलाई उपचारका लागि नेपालगञ्ज र काठमाडौं ल्याइएको छ ।

बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको थियो ।

दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका थिए ।

बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ भएर ओरालो घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको अनुमान गरिएको छ । घटनामा धेरै जना हताहती भएपनि उनीहरुको सनाखत हुन सकेको छैन ।