‘आनन्दपुर हत्याकाण्ड’ भारतको नेपालीमाथिको सिधा आक्रमण : क्रान्तिकारी माओवादी

‘आनन्दपुर हत्याकाण्ड’ भारतको नेपालीमाथिको सिधा आक्रमण : क्रान्तिकारी माओवादी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले एक प्रेस वक्तव्य जारी गर्दै बिहीबार दिउसो कञ्चनपुर जिल्लाको आनन्दपुर बजारमा ढल बनाइरहेका नेपालीहरुमाथि भारतको सीमा सुरक्षा बल (एसएसबी)ले ‘यो भारतको भूमि हो’ भन्दै हस्तक्षेप गरी गोली चलाएर एक नेपाली युवाको हत्या गरेको विषयलाई भारतको नेपालीमाथिको सिधा आक्रमण भएको आरोप लगाएको छ ।

विज्ञप्तीमा भनिएको छ, “एसएसबीले गोली चलाउँदा स्थानीय नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको छ । यो घटना सामान्य हत्याकाण्ड मात्र नभई भारत सरकारको सुरक्षा निकायले नेपाल र नेपालीमाथि गरेको सिधा आक्रमण पनि हो । हाम्रो पार्टी यसको घोर भत्र्सना गर्दछ ।”

वक्तव्यमा घटनामा एसएसबीको गोलीबाट मारिएका देशभक्त युवा गोविन्द गौतमलाई वीर सहिद घोषणा गर्नुको साथै उचित क्षतिपूर्तिको माग गर्दै मारिएका युवकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

यसप्रकारको नाङ्गो विदेशी आक्रमण हुँदा पनि चुप लागेर बस्ने प्रचण्ड नेतृत्वको सरकारसित क्रान्तिकारी माओवादीले भारत सरकारप्रति कडा विरोध, भत्र्सना र जवाफी प्रतिक्रिया व्यक्त गर्न समेत जोडदार माग गरेको छ ।