कैलाली । भारतीय सीमामा बस्ने नेपाली नागरिकमाथि भारतीय सुरक्षा बल एसएसबीका जवानहरुले ज्यादती गर्न थालेपछि नेपालीहरु प्रतिरोधमा उत्रिएका छन् । कंचनपुरस्थित नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका नेपाली नागरिकलाई कुटपित गरेको विरोधमा स्थानीयबासीहरु एसएसबीको प्रतिरोधमा उत्रिएका हुन् ।
सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ । आनन्द बजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको थियो । विवादले उग्र रुप लिएपछि बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए ।
भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध कडा नाराबाजीसमेत गरेका छन् । एसएसबीले प्रदर्शनमा उत्रिएका नेपालीहरुलाई थप कुटपिट गर्न खोजेपछि तनाब अझ बडेको छ । स्थानीय नेपालीहरुले ढुंगामुढासहित एसएसबीको ज्यादतीको प्रतिरोध गरेका छन् । भारतीय एसएसबीले नेपालीहरुलाई कुटपिट गरिरहँदा नेपालका सुरक्षाकर्मीहरु मुकदर्शक बनेको स्थानीयहरुले बताएका छन् ।