काठमाडौं । हाल त्रिविवि र यसका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा स्ववियु निर्वाचनको गर्मागर्मी चलिरहेको छ । यसको चहलपहल राजधानीको प्रदर्शनीमार्ग स्थित विश्वभाषा क्याम्पसमा पनि देख्न सकिन्छ र त्यहाँभित्रको लापरवाही, बेथिति र लथालिङ्ग स्थितिले देशभरकै क्याम्पसहरुको स्थिति उजागर गर्दछ । त्यहाँ स्ववियु निर्वाचन आचारसंहिता र कार्यतालिका अनुसार केही पनि काम हुन सकेको छैन । संगठन दर्ता, नामावली प्रकाशन र मनोनयन दर्ताको कामहरु केही पनि भएको छैन र निर्वाचन समिति तथा क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरुको बीच बैठक बसाई सहमति निर्माण गरी चुनावको वातावरण बनाउन सकिरहेको छैन । प्राप्त जानकारी अनुसार त्यहाँको विद्यार्थी भर्ना रजिष्टर फाइल नै गायव गरी जलाइएको छ । यस्तो स्थितिमा त्यहाँ कसरी स्ववियु चुनाव होला ? विध्यार्थी संगठन र विध्यार्थीहरुमा शंका बढ्न थालेको छ ।
विगतमा पनि हराउथे सामानहरु
यस भन्दा अघि पनि विभिन्न समयमा शिक्षकहरुको हाजिर फाइल, कार्यालयको ल्यापटप, विद्यार्थीको साइकलदेखि लेखा शाखाबाट बैंकको चेक समेत हराउने, गायव हुने वा चोरी हुने घटना घटिरहन्थे ।
पार्टीको नाममा शिक्षक नियुक्तिमा भागबण्डा र मनोमौजी
केही समय अघि मात्र क्याम्पसमा अंग्रजी भाषा पढाउने शिक्षक नियुक्तिमा भागबण्डा र मनोमौजी भएको थियो । कतिसम्म भने ४ जना शिक्षकको नियुक्ति त प्रक्रिया नै नपु¥याई पदपुर्तिको ठाउमा नाम नै नजनाई खाली राखेर नियुक्तिको रेकर्ड तयार पारिएको छ । ती अज्ञात शिक्षकहरु तीन महिनादेखि विना तलब त्यहा पढाइ रहेका छन् । यो भन्दा बेतिथि अरु के हुन सक्छ ?
कोठाहरु कब्जा
कलेजको कोर्ष अनुसारको कक्षा सञ्चालन गर्न कक्षा कोठाको अभाव छ । तर त्यो विश्वभाषा क्याम्पसमा कक्षा कोठा नभएर होइन । अभाव त पर्याप्त भएका कोठाहरु अरुले कब्जा गरेकोले हो । त्यहाँका राम्रा राम्रा कोठाहरु विभिन्न व्यक्ति, संघसंस्था र समुहहरुले कब्जा गरी प्रयोग गरिरहेका छन् । कतिसम्म भने त्रिविवि र विश्वभाषासँग कुनै सम्बन्ध नै नभएको विदेशी संस्था, विदेशी विश्वविद्यालयका एजेण्टहरुले कब्जा गरी त्यहाँबाट आफ्नो शैक्षिक व्यापारहरु चलाइरहेका छन् ।
दुव्र्यसनको थलो
पछिल्लो समयमा विश्वभाषा क्याम्पसको हाता दुव्र्यसनको थलो बनेको छ । चुरोट, गाँजा र लागु पदार्थका पारखीहरु सजिलै क्याम्पसभित्र छिर्छन् र आफ्नो रुची अनुसारको पदार्थहरु सेवन गरी मस्ती लिइरहन्छन् । त्यसमा क्याम्पस प्रशासनको कुनै रोकटोक छैन ।
प्रमाणपत्रको बिक्री
विश्वभाषा क्याम्पसमा विश्वका विभिन्न भाषाहरु पढाइन्छ र त्रिविविको मान्यता प्राप्त भाषा प्रमाणपत्रहरु विद्यार्थीलाई प्रदान गरिन्छ । तर त्यस्तो प्रमाणपत्रहरु वितरणमा पनि दुर्पयोग भैरहेको छ । त्यहाँका भाषा प्रमुख, शिक्षक तथा कर्मचारीहरुले त्यस्ता प्रमाणपत्रहरु सजिलै विक्री गरिरहेका छन् ।
यी विकृतीहरुको बारेमा विद्यार्थीहरुले धेरै पटक आवाज उठाउँदा पनि क्याम्पस प्रमुख तथा प्रशासन कानमा तेल हालेर बसेको र गलत गतिविधिलाई प्रश्रय दिइरहेको विध्यार्थीहरुको गुनासो छ । सरोकारवाला निकायहरुको र सम्बन्धित निकायको क्याम्पस हाताभित्र हुने यस्ता गतिविधिहरु नियन्त्रण गर्न बेलैमा ध्यान जान जरुरी छ । यस्तै विकृतिहरुले प्रश्रय पाइरहने हो भने अहिलेका विश्वविध्यालयबाट अधिकांश विध्यार्थीहरुको विश्वास गुम्नेछ र विश्वविध्यालयहरु विध्यार्थीविहीन बनेर जानेछन् ।