
काठमाडौं । तीन ठुला संगठनहरुले नेपाल पत्रकार महासंघमा सिन्डिकेट लादि गैरपत्रकार भर्ना गरेको आरोप लाग्दै गर्दा क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंले नेपाल पत्रकार महासंघको काठमाडौं शाखामा निष्क्रिय पत्रकारहरुको नवीकरण नगरी सदस्यता खारेज गर्ने र गैरपत्रकारहरुको भर्ती तत्काल रोक्न माग गर्दै फागुन २० सम्मको अल्टिमेटम दिएको छ । क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंका संयोजक रामचन्द्र हुमागाईको नेतृत्वमा गएको एक टोलीले महासंघको जिल्ला शाखा अध्यक्ष गोबिन्द चौलागाईलाई पाँच सुत्रिय ध्यानाकर्षण पत्र बुझाउदै यस्तो अल्टिमेटम दिएको हो ।
महासंघले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा बुझाएको ध्यानाकर्षण पत्रको पूर्णपाठ यसप्रकार छ ः
श्री अध्यक्ष ज्यू
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा,
भृकुटीमण्डप, काठमाडौं ।
विषय ः ध्यानाकर्षण पत्र ।
अध्यक्ष ज्यू,
‘क्रान्तिकारी पत्रकार महासंघ’ श्रमजीवि पत्रकारहरुको नेतृत्वदायी संगठन हो । स्थापनाकालदेखि नै यस महासंघले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन, पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी, सम्पादकीय स्वतन्त्रता, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, साना लगानीका तथा जनपक्षीय मिडियाहरुको संरक्षण र संवद्र्धन, श्रमजीवि पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेण्टी, मिडियामा वैदेशिक र अपारदर्शी लगानीलाई निषेध, मिडियाका कन्टेन्टको समावेशिकरण, निष्पक्ष, मर्यादित, जिम्मेवार र जवाफदेहीपूर्ण पत्रकारितालगायतको पक्षमा खह«ोरुपमा वकालत गर्दै आएको छ ।
हाम्रो महासंघ ‘नेपाल पत्रकार महासंघ’लाई छाता संगठन मान्दछ । हाम्रो संगठनले उठाएका उल्लेखित विषय पनि नेपाल पत्रकार महासंघले पनि आफ्नो कार्यसूचिमा राखोस् र त्यसको प्रभावकारी कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरोस् । हामी गम्भीर रुपले ध्यानाकर्षण गराउन चाहन्छौं । यसका अतिरिक्त निम्न विषयहरुमा हामीले विशेष ध्यानाकर्षण गराउन आवश्यक ठानेका छौं ।
१. हाम्रो संगठनलाई नेपाल पत्रकार महासंघको नेतृत्वले वेवास्ता गर्दै आएको छ र प्रायः निर्णय प्रक्रिया, विविध सरोकार राख्ने कार्यक्रममा हाम्रो संगठनलाई सहभागी गराएको छैन । हाम्रो संगठनप्रतिको निषेधकारी व्यवहार सच्याइयोस् र नेपाल पत्रकार महासंघलाई साँच्चैको छाता संगठनको भूमिकामा स्थापित गरियोस् ।
२. नेपाल पत्रकार महासंघ, जिल्ला शाखाका हरेक निर्णय प्रक्रियामा तीन ठूला राजनीतिक पार्टीहरु नेपाली कांग्रेस सम्बद्ध प्रेस युनियन, नेकपा (एमाले)सम्बद्ध प्रेस चौतारी र नेकपा (माओवादी केन्द्र) सम्बद्ध प्रेस सेन्टरको ‘सिन्डिकेट’ लादिएको छ । हाम्रो संगठन यसको कडा शब्दमा विरोध गर्दछ । महासंघमा सबै सरोकारवाला संगठनहरुको प्रतिनिधित्व सुनिश्चित गराउने गरी भूमिका खेलियोस् हाम्रो महासंघ जोडदार माग गर्दछ ।
३. नेपाल पत्रकार महासंघको आवधिक चुनाव नजिकिदैछ । महासंघले शुद्धीकरण अभियान चलाओस् । गैरपत्रकार, निष्क्रिय पत्रकार, उद्योगी, व्यापारी, कर्मचारी, राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु (जो प्रत्यक्षरुपले पत्रकारिता पेशामा संलग्न छैनन्) लगायतको सदस्यता नवीकरण नगरियोस्, त्यस्ताको सदस्यता खारेज गरियोस् । र, नेपाल पत्रकार महासंघलाई सक्कली (क्रियाशिल) पत्रकारहरुको साझा संगठन बनाइयोस् ।
४. पेशामा क्रियाशिल र योग्यता पुगेका पत्रकारहरु, जसले सदस्यताका लागि आवेदन दिएका छन्, निःशर्त उनीहरुलाई महासंघको सदस्यता दिलाइयोस् । आस्थाको आधारमा भेदभाव र बाधा अड्चन खडा नगरियोस् ।
५. गैरपत्रकारहरु, निष्क्रिय पत्रकारको छानविन गर्न जिल्लामा एउटा आयोग बनाइयोस् र जिल्ला अधिवेशन हुनुभन्दा दशदिन अगाडि नयाँ र पुराना सदस्यहरुको अन्तिम नामावली सार्वजनिक गरियोस् ।
अन्तमा, हाम्रो संगठनले उठाएका उल्लेखित विषयहरु सम्बोधन नगरिने, हामीप्रतिको अपमानपूर्ण र निषेधकारी व्यवहारलाई नसच्याइने हो र सहकार्यको ढोका बन्द गरिने हो भने क्रान्तिकारी पत्रकार महासंघ कडा संघर्षमा उत्रन बाध्य हुने ध्यानाकर्षण पत्रमार्फत् अवगत गराउन चाहन्छौं ।
मिति ः २०७३।११।१२
रामचन्द्र हुमागाईं अध्यक्ष
बोधार्थ ः
नेपाल पत्रकार महासंघ, केन्द्रिय कार्यालय, संचारग्राम, काठमाण्डौं ।