थ्री डी सेल्फी सहिदको आइफोन एट

एप्पलको आइफोन सेभेन प्लसमा रहेको क्यामरालाई फोटोग्राफीको भविष्य ठानिएको थियो । तर एप्पलको दशौँ वर्षगाँठका अवसरमा सार्वजनिक गरिने नयाँ आइफोनको प्रविधि झनै क्रान्तिकारी हुनेछ ।

एप्पलको आगामी संस्करणको आइफोन, जसको नाम आइफोन एट हुने अड्कल काटिएको छ, त्यसमा यस्तो सेल्फी क्यामरा हुनेछ जुन इन्फ्रारेड मोड्युल रहनेछ र त्यसले थ्री डी सेल्फी खिच्न सकिनेछ ।

यो प्रविधि सेल्फी खिच्नेसँगै फेसिएल रिकग्निसन वा आइरिस स्क्यानिंगमा पनि प्रयोग हुनेछ ।

एप्पलको आइफोन एटका बारेमा विभिन्न जानकारीहरु सार्वजनिक गरिरहेका के जि आइ सेक्युरिटिजका विश्लेषक मिंग ची कुओले हालै लगानीकर्ताहरुलाई एउटा नोट लेखेका छन् । उनले एप्पलको आगामी आइफोनमा हुने प्रविधिलाई क्रान्तिकारी भनेका छन, जुन विभिन्न एप्लिकेसनमा प्रयोग हुनेछ ।

यो प्रविधिले प्रयोगकर्ताको अनुहारलाई कम्प्युटर एनिमेटेड पात्रमा राख्नेछ । थ्री डी सेन्सर सहितको सेल्फी क्यामराको सहयोगमा आइफोन प्रयोगकर्ताहरुले आफ्ना सेल्फीलाई अगमेन्टेड रियालिटीमा प्रयोग गर्न सक्नेछन् । साथै यसलाई आइफोन अनलक गर्ने फेसियल रिकग्निसन तथा आइरिस स्क्यानरमा पनि प्रयोग गर्न सकिनेछ ।