मिनी ट्रक दुर्घटनामा चालकसहित ३ जनाको मृत्यु

मिनी ट्रक दुर्घटनामा चालकसहित ३ जनाको मृत्यु

जुम्ला । जुम्लाको बड्की गाविसमा बिहीबार बिहान मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बड्की गाविस–२ को देहार गाउँको कोटिला भिरबाट ना ६ ख ९३७२ नम्बरको मिनी टाटा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी बर्दिया मैनापोखरा–८ का तिर्थराम थारु, मुगुको कलाई–४ का रंगबहादुर शाही र सोही ठाउँका गंगा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । थारु मिनी ट्रकका चालक हुन् ।

दुर्घटनामा घाइते भएका सहचालकको पहिचान खुलेको छैन । उनको गम्भीर अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।